सल्लाघारी।आज नेकपा (एमाले) को ११औँ महाधिवेशनको भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन सत्रले नेपाली राजनीतिमा एक पटक फेरि स्पष्ट सन्देश दिएको छ ।यो पार्टी केवल सत्ता राजनीतिमा सीमित छैन, यो जनआधार, विचार र राष्ट्रिय संकल्पबाट निर्देशित आन्दोलन हो। उद्घाटन सत्रमा देखिएको जनसहभागिता, उत्साह र अनुशासनले नेकपा (एमाले) अझै पनि जनताको विश्वास र अपेक्षाको केन्द्रमा रहेको यथार्थलाई पुष्टि गरेको छ।
विगत केही समयदेखि ‘जेन्जी आन्दोलन’ लगायत विभिन्न नाम र आवरणमा सबैभन्दा बढी राजनीतिक प्रहारको केन्द्र बनेको दल नै नेकपा (एमाले) हो। विचारभन्दा आरोप, तथ्यभन्दा भ्रम र राजनीतिक असहमतिभन्दा दुष्प्रचारलाई हतियार बनाएर एमालेमाथि निरन्तर आक्रमण गरियो। तर आजको उद्घाटन सत्रले ती सबै आरोपहरूलाई जनसहभागिताको भीड, कार्यकर्ताको आत्मविश्वास र राजनीतिक दृढताले मौन जवाफ दिएको छ।
नेपालको राजनीतिक इतिहासमा जब–जब राष्ट्रिय स्वाधीनता, विकास र स्थायित्वको कुरा उठ्छ, एमाले स्वाभाविक रूपमा शक्तिहरूको निशानामा पर्छ। यो संयोग होइन। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टि, राष्ट्रिय हितमा आधारित नीति र आत्मनिर्भर अर्थतन्त्रतर्फको पहलले एमाले सधैँ असहज पात्र बनिरहेको छ। देशभित्रका स्वार्थ समूहहरूका लागि र बाह्य शक्तिहरूका लागि पनि।
जेन्जी आन्दोलनको नाममा उठाइएका आवाजहरू सबै युवा चेतनाका प्रतिनिधि हुन् भन्ने भ्रम सिर्जना गरियो। तर वास्तविकता के हो भने, त्यो आन्दोलनको राजनीतिक धार प्रायः एमाले विरोधमै केन्द्रित रह्यो। वैचारिक बहसभन्दा बढी भावनात्मक उत्तेजना, रचनात्मक सुझावभन्दा बढी विरोधको राजनीति गरियो। यद्यपि एमाले त्यसबाट विचलित भएन। आफ्नो मूल बाटो,राष्ट्रको समृद्धि, सामाजिक न्याय र सन्तुलित विकास छोडेन।
आजको राजनीतिक वातावरण सामान्य छैन। आन्तरिक प्रतिस्पर्धा, बाह्य दबाब, सामाजिक सञ्जालमा फैलाइएका भ्रम र संस्थागत कमजोर बनाउने योजनाहरूबीच यो महाधिवेशन आयोजना हुँदैछ। यस्तो प्रतिकूल अवस्थामा पनि एमालेले महाधिवेशनलाई उत्सवको रूपमा अघि बढाउनु आफैँमा सन्देश हो।यो पार्टी दबाबमा झुक्ने होइन, चुनौतीसँग जुध्ने परम्परामा विश्वास गर्छ।
महाधिवेशनको तयारीदेखि उद्घाटनसम्म देखिएको संगठनात्मक अनुशासनले स्पष्ट गर्छ एमालेभित्र अझै पनि संस्था व्यक्तिभन्दा बलियो छ। यही कारणले पछाडिबाट साजिस र षड्यन्त्र रच्नेहरू क्रमशः नांगिँदै गएका छन्। राजनीतिक आलोचना लोकतन्त्रको आत्मा हो, तर गुप्त षड्यन्त्र र अवाञ्छित हस्तक्षेप लोकतन्त्रका शत्रु हुन्। एमालेले यही विभाजन स्पष्ट रूपमा चिनेको गरेको छ।
महाधिवेशनको उद्घाटन सत्रले एउटा दृढ उद्घोष गरेको छ,अब देश र जनताको चाहनाअनुसार अघि बढ्ने एमाले यात्रालाई कसैले अवरुद्ध गर्न पाउने छैन। राजनीतिक अस्थिरता, नीतिगत अन्योल र दिशाहीन विकासले थाकेका जनताले स्थिरता खोजिरहेका छन्। त्यो स्थिरता कुनै सम्झौताको परिणाम होइन, बलियो नेतृत्व र स्पष्ट दृष्टिको परिणाम हुनुपर्छ।
एमालेको प्रतिबद्धता स्पष्ट छ ।देश निर्माणको जिम्मा जनादेशबाट निर्वाचित, वैचारिक रूपमा स्पष्ट र राष्ट्रिय हितप्रति उत्तरदायी नेतृत्वलाई दिनुपर्छ। यही कारण महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, भावी दिशाको जनघोषणा हो।
यो महाधिवेशनसँग जोडिएर एउटा यथार्थ अस्वीकार गर्न सकिँदैन ।केपी शर्मा ओली आज पनि एमालेको सबैभन्दा प्रभावशाली, अनुभवी र निर्णायक नेतृत्व हुन्। तर यहाँ कुरा व्यक्ति पूजा होइन, व्यक्ति–केन्द्रित दृष्टिकोणको पनि होइन। ओली नेतृत्वको चर्चा हुनुको कारण उनको निरन्तरता, दृढता र राष्ट्रहितमा अडिग रहने स्वभाव र ब्याक्तित्व हो।
राजनीतिमा लचकता कमजोरी होइन, तर सिद्धान्तहीन लचकता घातक हुन्छ। ओली नेतृत्वले यही सन्तुलन कायम गर्दै आएको छ ।आवश्यक परे कडा, आवश्यक परे समन्वयकारी। महाधिवेशनबाट चयन हुने नेतृत्व ओली–लक्षित हुनेछ, अर्थात् उनको राजनीतिक दृष्टि, अनुभव र रणनीतिक क्षमताबाट निर्देशित हुनेछ, तर संस्थागत संरचनाभित्र।
आजको उद्घाटन सत्र उत्सव मात्र थिएन, यो एक प्रतिज्ञा थियो ।राष्ट्रलाई निराशाबाट निकाल्ने, जनतालाई विश्वास दिलाउने र राजनीतिलाई पुनः उद्देश्यसँग जोड्ने प्रतिज्ञा। नेकपा (एमाले) ले फेरि स्पष्ट पारेको छ कि उसले न त दबाबमा निर्णय गर्छ, न त भ्रमको राजनीति स्वीकार्छ।
११औँ महाधिवेशनले यस्तो नेतृत्व चयन गर्नेछ, जसले देशलाई समृद्धिको बाटोमा लैजान सक्छ, जनताको भरोसा कायम राख्न सक्छ र बाह्य–आन्तरिक चुनौतीहरूको सामना आत्मविश्वासका साथ गर्न सक्छ। यही अपेक्षा, यही विश्वास र यही संकल्पका साथ एमालेको यो महाधिवेशन इतिहासमा एउटा निर्णायक मोडका रूपमा दर्ज हुने संकेत आजको उद्घाटन सत्रले दिएको छ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया