मृतकका औंठाछाप बनाएर सरकारी रकम झ्वाम : वडा अध्यक्षसहित आठ जनामाथि विशेष अदालतमा मुद्दा

काठमाडौं, असोज ३१ -कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनामाथि रु. ७३ लाख ३७ हजार ६२७ बराबरको सरकारी रकम हिनामिनाको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मृतक र नवीकरण नभएका व्यक्तिहरूका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकताबाट दोहोरो लाभग्राही अभिलेख तयार पारिएको र वडाका पदाधिकारीहरूले मृतकका नाममा आफैंले औंठाछाप लगाई रकम निकासा गरेको पाइएको छ।

अनुसन्धानका क्रममा तत्कालीन वडा सचिव प्रेम बहादुर बुढाले मृतक र नवीकरण नभएका लाभग्राहीका नाममा आफैंले ४७९ थान औंठाछाप लगाएको प्रमाण राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ। त्यस्तै, कार्यालय सहयोगी सोनम कठरियाले २०४ थान औंठाछाप प्रयोग गरेको देखिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार सो कार्यमा वडा अध्यक्ष खकेन्द्र भण्डारी, वडा सचिव प्रेम बहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्ण बहादुर विष्ट, र वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावलशेर बहादुर विश्वकर्मा संलग्न थिए। उनीहरूबीच आपसी मिलेमतोमा झुट्टा कागजात तयार गरी मृतक र दोहोरो लाभग्राहीका नाममा रकम निकासा गरिएको पाइएको हो।

आरोपपत्रमा प्रेम बहादुर बुढाले मृतक र दोहोरो लाभग्राहीका नाममा औंठाछाप लगाएर झुट्टा नवीकरण अभिलेख तयार पारेको र वडा अध्यक्ष भण्डारीले सोही कागजात प्रमाणिकरण गरी रकम वितरण गरेको उल्लेख छ।

आयोगले पत्ता लगाएको विवरणअनुसार, मृतक र नवीकरण नभएका खातामा जम्मा रु. ७३ लाख ३७ हजार ६२७ बराबरको रकम निकासा भएको छ।
त्यसमध्ये सोनम कठरियाको औंठाछाप प्रयोग गरी रु. ७ लाख ८१ हजार २००, मृतकका नाममा रु. १५ लाख ५० हजार ४००, र नवीकरण नभएका खातामा रु. १३ लाख ६३ हजार ९२६ रकम निकासा गरिएको पाइएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले भने, “सामाजिक सुरक्षा भत्ताजस्ता संवेदनशील कार्यक्रममा मृतक र दोहोरो लाभग्राहीका नाममा रकम वितरण गर्नु गम्भीर अपराध हो। सरकारी रकम हिनामिनामा संलग्न सबैमाथि कानुनी कारबाही माग गरिएको छ।”

आयोगले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ११ र १९(२) बमोजिम कैद, जरिवाना र बिगो असुलको मागसहित मुद्दा दायर गरेको जनाएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP