आज दशैंको फूलपाती भित्राइँदै

आज दशैंको फूलपाती भित्राइँदै

 काठमाडौं असोज १३-बडादशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्राइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन प्रत्येक वर्ष शास्त्रीय विधिअनुसार फूलपाती भित्राउने परम्परा रहिआएको छ।

घटस्थापनादेखि पूजाआजा हुँदै आएको दशैंघर वा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राइन्छ। यी नौवटा वस्तुलाई सामूहिक रूपमा फूलपाती भनिन्छ र नौ देवीको प्रतीकका रूपमा मानिन्छ।

धार्मिक विश्वासअनुसार केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजाआजा गरिन्छ। यी देवीहरूलाई नवदुर्गाका पार्षद् मानिन्छ।

राज्यस्तरमा गोरखाबाट काठमाडौं दरबारमा सेनाका जवान र बाजागाजासहित विशेष टुकडीद्वारा फूलपाती भित्र्याउने परम्परा पनि निरन्तर कायम छ। यसलाई राज्य र जनताको धार्मिक–सांस्कृतिक एकताको प्रतीकका रूपमा लिइन्छ।

फूलपाती भित्राउन विशेष साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार सप्तमीको दिन जुनसुकै समयमा पनि फूलपाती भित्र्याएर पूजाआजा गर्न सकिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP