काठमाडौं, साउन १७ — नेपाल बौद्धिक परिषद् केन्द्रीय कमिटीको आयोजनामा “नेपालको भूराजनीतिक तथा आर्थिक अवस्था : बौद्धिक जगतको भूमिका” विषयमा पहिलो शृङ्खलाको भर्चुअल बौद्धिक बहस शुक्रबार सम्पन्न भएको छ।
समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा नेपालको मौलिक स्वार्थ, भूराजनीतिक अवस्था र आर्थिक नीति निर्माणका सम्भावनाहरूलाई ध्यानमा राख्दै गरिएको उक्त बहसले बुद्धिजीवी, नीति विश्लेषक तथा समाजका विविध क्षेत्रका प्रतिनिधिहरूको गम्भीर चासो झल्काएको छ।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा संयुक्त राज्य अमेरिकास्थित अपला चियान स्टेट विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. दिनेश पौडेलले आफ्नो गहकिलो अवधारणापत्र प्रस्तुत गरेका थिए। प्रस्तुतिमा उनले नेपालको भू-राजनीतिक सन्दर्भमा बढ्दो शक्ति प्रतिष्पर्धा, भूराजनीतिक हैसियतमा हुने सम्भावित फेरबदलहरू, नेपालको रणनीतिक लचिलोपन, आर्थिक निर्भरता, र बौद्धिक समुदायको कर्तव्य जस्ता विषयवस्तुमा तथ्यपरक विश्लेषण प्रस्तुत गरे।
प्रा. डा. पौडेलले देशको आन्तरिक क्षमता र सशक्त बौद्धिक आधार निर्माणको आवश्यकता जोड दिँदै भने, “नेपालले दीर्घकालीन रणनीति बिना जति पनि वैदेशिक सम्बन्ध बढाए पनि त्यो अल्पकालीन लाभमा सीमित हुनेछ।”
उनको अवधारणापत्रमा उठाइएका विषयहरूमाथि कार्यक्रमका सहभागीहरूले जिज्ञासा राखेका थिए। प्रस्तुत जिज्ञासाहरूमा उनले समाधानमुखी शैलीमा उत्तर दिँदै नेपालको समसामयिक चुनौतीका बीचमा पनि सकारात्मक हस्तक्षेप गर्न सक्ने बौद्धिक शक्ति विकासमा जोड दिए।
कार्यक्रममा नेपाल र विदेशबाट परिषद्सँग आबद्ध ७१ जना सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले बहसलाई सारगर्भित, समसामयिक र मार्गदर्शक भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको अध्यक्षता परिषद्का केन्द्रीय अध्यक्ष ई. गजेन्द्रप्रसाद थपलियाले गरेका थिए। उनले समापन मन्तव्यमा देशका लागि बुद्धिजीवीहरूको सक्रिय हस्तक्षेप आजको आवश्यकता भएको उल्लेख गर्दै परिषद्ले आगामी दिनमा यस्ता बहसलाई “सुझाव उत्पादनको थलो” का रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन परिषद्का महासचिव डा. दीपेन्द्र श्रेष्ठले गरेका थिए भने सहजीकरण परिषद् सचिव डा. टीका ढकालले गरेकी थिइन्।
भर्चुअल बहसमा सुर्खेतबाट परिषद्का जिल्ला अध्यक्ष थानेश्वर लामिछाने, केन्द्रीय सदस्य फूलमती खराल तिवारी, जिल्ला कोषाध्यक्ष देवेन्द्रकुमार वाग्ले, सदस्य डा. पुष्पराज आचार्य लगायत परिषद्का अन्य सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति र सहभागिता रहेको थियो।
नेपाल बौद्धिक परिषद्ले आगामी दिनमा यस्ता बौद्धिक बहस, छलफल र अनुसन्धानमूलक शृङ्खलालाई निरन्तरता दिँदै जाने घोषणा गरेको छ, जसले नीतिगत संवादमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया