हरिशयनी एकादशीका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना : ‘धर्ति र जीवन दुवैमा शान्ति छाओस्’

हरिशयनी एकादशीका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना : ‘धर्ति र जीवन दुवैमा शान्ति छाओस्’

काठमाडौं, असार २२ — प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको पावन अवसरमा देशवासीलाई शुभकामना दिँदै आजको दिनलाई शरीर, मन र वातावरण शुद्धिकरणको प्रतीकात्मक अवसरका रूपमा व्याख्या गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन। आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्धि गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो।”

उनले परम्परागत उपवास, कम भोजन, ध्यानजस्ता अभ्यासहरूले मानिसलाई शान्त र सन्तुलित बनाउने विश्वास रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले अन्त्यमा भनेका छन्, “धरती र जीवन दुवैमा शान्ति छाओस्। हरिशयनी एकादशीको शुभकामना !”

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशी हिन्दू धर्ममा विशेष धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व हो। यस दिनबाट चतुर्मास प्रारम्भ हुने मानिन्छ, जसमा भगवान विष्णु क्षीरसागरमा चार महिनाका लागि योगनिद्रामा जानुहुन्छ भन्ने धार्मिक विश्वास छ।

यस दिन तुलसीको रोपण, उपवास, ध्यान, तथा वातावरणीय शुद्धताको अभ्यास प्रमुख धार्मिक गतिविधिको रूपमा गरिन्छ। प्रधानमन्त्रीको सन्देशले धार्मिक आस्थासँगै वातावरणीय र मानसिक सन्तुलनको सन्देशसमेत दिन खोजेको देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP