धरानका वडाध्यक्ष धनबहादुर राईमाथि एमालेको अनुशासन कारबाही प्रक्रिया सुरु

धरान, असार २२ — नेकपा एमालेले धरान उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राईमाथि औपचारिक अनुशासन कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टी नीति विपरीत गतिविधिमा संलग्न भएको आरोपसहित जिल्ला कमिटीमार्फत उनलाई लिखित स्पष्टीकरण मागिने तयारी गरिएको छ।

पार्टीका सुनसरी जिल्ला सचिव राम कोइरालाका अनुसार वडाध्यक्ष राईले पार्टीको नीतिभन्दा मेयरको निर्देशनलाई प्राथमिकता दिएको, श्रम अभियानमा समावेश हुन चाहेको, सामाजिक सञ्जाल र डिजिटल मिडियामा पार्टी विरोधी गतिविधि गरेको तथा नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको उजुरीहरू आएका थिए। ‘पटक–पटक सम्झाउँदा पनि अटेर व्यवहार नरोकिएपछि पार्टीले औपचारिक रूपमा लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको हो,’ उनले भने, ‘ सात दिनको म्याद दिई स्पष्टीकरण मागिनेछ।’

यसैबीच, वडाध्यक्ष राईले भने आफूलाई हालसम्म कारबाहीसम्बन्धी कुनै आधिकारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन्। ‘जो दोषी छ, उसले जानकारी त पाउनु पर्ला नि। अहिलेसम्म जानकारी नै आएको छैन,’ उनले भने।

२०७४ सालमा वडा सदस्यका रूपमा निर्वाचित भएका राई २०७९ सालमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष बनेका थिए। आफू जनताको सेवामा निरन्तर लागेकै कारण टिकट पाएको र सहजै विजयी भएको उनी बताउँछन्। ‘श्रम नगर्नु, छाता ओढेर जनतालाई काम अह्राउँदै हिँड्नु भन्ने पार्टी नीति हो भने त्यो मेरो स्वभाव होइन,’ राईले टिप्पणी गरे।

पार्टी भित्रैका केही व्यक्तिहरू — राजेन्द्र राई र योगेश काफ्ले — ले पटक–पटक स्पष्टीकरण दिनुपर्ने भनेर भनेपछि आफैंले लेखेर हस्ताक्षरसमेत गराएको उनले बताए। ‘हर्क राईलाई सहयोग गरेको, कोकाहाको पानी ल्याउन पाइप तान्न गएको, मच्छड मार्न हिँडेको जस्ता गतिविधिमा लागेको भनेर मलाई आपत्ति लिइएको छ,’ उनले बताए।

राईले आफूलाई ‘धेरै नबोल्न’ भनिएको भए पनि आवश्यकताअनुसार बोलेको बताए। ‘म चुप लागेर बस्दा राम्रो, बोल्दा नराम्रो भन्ने निर्देशन भएपछि डेढ वर्ष मौन बसेँ,’ उनले गुनासो गरे।

सचिव कोइरालाले भने पार्टीको कारबाही निष्कासन मात्र नभई चेतावनी, सचेतना, आत्मालोचना माग्ने जस्ता चरणबद्ध प्रक्रिया रहेको स्पष्ट पारे। ‘यदि चित्तबुझ्दो जवाफ नआएमा विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइनेछ,’ उनले भने।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP