नेपाल आयल निगमका प्रादेशिक प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल आयल निगमका प्रादेशिक प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा, २६ जेठ — नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चितरंजन दाससहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि करिब ३ हजार लिटर डिजेल हिनामिना गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार २०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्स, तालचोक, कास्कीले नेपाल आयल निगम गगनगौंडास्थित डिपोमा १२ हजार लिटर डिजेल लोड गर्न ग २ ख ८३६ नम्बरको ट्याङ्कर पठाएको थियो। तर उक्त ट्याङ्करमा १५ हजार ३८ लिटर डिजेल लोड गरिएको पाइएको छ। यसरी ३ हजार ३८ लिटर डिजेल अतिरिक्त लोड गरी हिनामिना गरिएको आयोगको दाबी छ।

डिपोबाट लोड गर्ने कार्यमा संलग्न प्रादेशिक प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी–धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट तथा ट्याङ्कर चालक निर्मल थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही माग गर्दै मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार लोड गरिएको अतिरिक्त डिजेलको डिपो मूल्य प्रतिलिटर १४७ रूपैयाँ ६३ पैसा ८५ पैसा तोकिएको छ। त्यसअनुसार कुल हिनामिनाको मूल्य ४ लाख ४८ हजार ५२५ रूपैयाँ ८२ पैसा बराबर रहेको छ।

आयोगले डिजेल हिनामिनामा संलग्न अभियुक्तहरूमाथि बिगो असुल, जरिवाना तथा कैद सजायको मागदाबी गर्दै भ्रष्टाचार मुद्दा अघि बढाएको जनाएकोछ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP