साउदी अरबमा हुथीको भीषण आक्रमण, ७३ जना घाइते

साउदी अरबमा हुथीको भीषण आक्रमण, ७३ जना घाइते

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावबीच इरानसमर्थित हुथी विद्रोही समूहले साउदी अरबको दक्षिणी क्षेत्रमा ड्रोन तथा ब्यालिस्टिक मिसाइलबाट ठूलो आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन्, जसमा महिला तथा बालबालिका पनि रहेको साउदी अधिकारीहरूले बताएका छन्।


हुथीले अब्हा, जिजान, नजरान र खमिस मुशैत लगायतका क्षेत्रमा रहेका तेल तथा आर्थिक पूर्वाधार र सैन्यस्थललाई निशाना बनाएको बताइएको छ। आक्रमणका क्रममा केही तेल प्रशोधन केन्द्र तथा ऊर्जा पूर्वाधारमा आगलागी भएपछि सम्बन्धित क्षेत्रमा केही समयका लागि सञ्चालनसमेत रोकिएको थियो।


हुथी सैन्य प्रवक्ता याह्या सारीले दर्जनौँ ड्रोन तथा मिसाइल प्रयोग गरी साउदीका महत्वपूर्ण औद्योगिक र ऊर्जा संरचनामा आक्रमण गरिएको दाबी गरेका छन्। हुथीले यो कारबाही साउदी पक्षबाट यमनमा भएको आक्रमणको जवाफ भएको बताएको छ।


साउदी पक्षले भने घटनालाई 'गम्भीर र खतरनाक तनाव' को रूपमा व्याख्या गर्दै आवश्यक प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ। पछिल्लो आक्रमणले साउदी–हुथी द्वन्द्व पुनः चर्किने तथा मध्यपूर्वको अस्थिरता थप बढ्ने चिन्ता पैदा गरेको छ।


आक्रमणको प्रभाव विश्व ऊर्जा बजारमा समेत देखिएको छ। मध्यपूर्वका महत्वपूर्ण तेल पूर्वाधार र ढुवानी मार्गमा जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP