चर्चामा
काठमाडौं । फुटबल मैदानमा वर्षौँसम्म एकअर्काका प्रमुख प्रतिस्पर्धी बनेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको सम्बन्ध प्रतिस्पर्धामा मात्रै सीमित छैन भन्ने कुरा फेरि एकपटक देखिएको छ । अर्जेन्टिनाका कप्तान मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएपछि पोर्चुगलका स्टार रोनाल्डोले उनलाई सम्मान व्यक्त गर्दै भावुक सन्देश दिएका छन् ।
मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेपछि सामाजिक सञ्जालमार्फत लामो अन्तर्राष्ट्रिय यात्राबारे भावना व्यक्त गरेका थिए । त्यसको प्रतिक्रियामा रोनाल्डोले मेस्सीको उपलब्धिको प्रशंसा गर्दै उनको योगदान सधैँ सम्झिइरहने बताएका हुन् ।
रोनाल्डोले मेस्सीको पोस्टमा टिप्पणी गर्दै लेखेका छन्, 'लियो, आफ्नो देशका लागि यति धेरै वर्ष खेल्दै तिमीले यस्तो इतिहास बनाएका छौ, जुन सधैँ रहिरहनेछ । अर्जेन्टिनाका लागि तिमीले हासिल गरेका उपलब्धिप्रति मेरो उच्च सम्मान छ । अँगालो।'
रोनाल्डोको यो सन्देशले फुटबलप्रेमीको ध्यान खिचेको छ । विश्व फुटबलमा लामो समयदेखि सर्वोत्कृष्ट खेलाडीको बहसमा सँगै जोडिँदै आएका यी दुई खेलाडीले मैदानमा प्रतिस्पर्धा गरे पनि एकअर्काको उपलब्धिप्रति सम्मान व्यक्त गर्दै आएका छन् ।
मेस्सीले अर्जेन्टिनाको जर्सीमा २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । उनले आफ्नो अन्तिम खेलमा बेनिनविरुद्ध अर्जेन्टिनालाई ३-० को जित दिलाउने क्रममा एक गोल गरे भने अन्य दुई गोलमा सहयोग गरेका थिए । बुएनोस आयर्सस्थित मोनुमेन्टल रंगशालामा हजारौँ समर्थकको उपस्थितिमा उनको बिदाइ गरिएको थियो ।
मेस्सीले सामाजिक सञ्जालमा लेखेका थिए, 'हिजो मेरो अन्तिम खेल थियो र नीलो-सेतो जर्सी लगाउन नपाउँदा अहिले नै अभाव महसुस भइरहेको छ ।' उनले राष्ट्रिय टोलीसँगको यात्रा खुसी र दुःख दुवै भावनाले भरिएको भए पनि हरेक क्षण सार्थक रहेको बताएका थिए ।
मेस्सीले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप र सन् २०२१ तथा २०२४ को कोपा अमेरिका उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय टोलीका लागि उनको योगदान अर्जेन्टिनाको फुटबल इतिहासमा विशेष रूपमा स्मरण गरिनेछ ।
यता, रोनाल्डोको सन्देशले दुई महान् खेलाडीबीचको वर्षौँ लामो प्रतिस्पर्धासँगै रहेको पारस्परिक सम्मानलाई पनि उजागर गरेको छ ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!