३३ वर्षीया महिलाको पेटबाट निस्कियो १४ कलम, ५ काठका चम्चा र मैनबत्ती, चिकित्सकसमेत चकित

३३ वर्षीया महिलाको पेटबाट निस्कियो १४ कलम, ५ काठका चम्चा र मैनबत्ती, चिकित्सकसमेत चकित

आन्ध्र प्रदेश । भारतको आन्ध्र प्रदेशस्थित पलनाडु जिल्लाको नरसरावपेटमा चिकित्सकहरूले एक ३३ वर्षीया महिलाको पेटबाट ठूलो संख्यामा असामान्य वस्तु निकालेर उनको ज्यान जोगाएका छन्।


स्थानीय रिपोर्टअनुसार पेटमा दुई दिनदेखि लगातार कडा दुखाइ भएपछि पेट्लुरिपालेम गाउँकी ती महिलालाई नरसरावपेटस्थित माथाश्री निजी अस्पताल लगिएको थियो। चिकित्सकहरूले आवश्यक परीक्षण र स्क्यान गरेपछि उनको पेटभित्र असामान्य वस्तुहरू रहेको देखेपछि उपचार टोलीसमेत आश्चर्यमा परेको थियो।


स्क्यानमा महिलाको पेटभित्र १४ वटा कलम, पाँचवटा काठका चम्चा र एउटा मैनबत्ती रहेको देखिएको थियो। त्यसपछि चिकित्सकहरूको टोलीले शल्यक्रिया गरी ती सबै वस्तु सावधानीपूर्वक बाहिर निकालेको हो।


चिकित्सक डा. पी. रामचन्द्र रेड्डीको नेतृत्वमा टोलीले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेको रिपोर्टमा उल्लेख छ। उपचारपछि महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।


यति धेरै गैरखाद्य वस्तु उनको पेटसम्म कसरी पुगे भन्ने विषय भने अझै चासोको विषय बनेको छ। उनले आफैँ ती वस्तु निलेकी हुन् वा अन्य कुनै कारणले यस्तो भएको हो भन्नेबारे विभिन्न प्रश्न उठिरहेका छन्। चिकित्सकहरूले यदि व्यक्तिले स्वेच्छाले खान नहुने वस्तुहरू पटक–पटक खाने गरेको हो भने त्यसको पछाडि 'पिका सिन्ड्रोम' जस्ता मनोवैज्ञानिक अवस्थासमेत हुन सक्ने बताएका छन्। पिका यस्तो अवस्था हो, जसमा व्यक्तिले पोषणमूल्य नभएका गैरखाद्य वस्तु खाने इच्छा वा व्यवहार देखाउन सक्छ।


चिकित्सकहरूका अनुसार यस्ता वस्तु पेट वा आन्द्रामा अड्किँदा आन्द्रा अवरुद्ध हुने, भित्री अंगमा चोट लाग्ने, संक्रमण हुने तथा ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले यस्ता असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा उपचार गराउन आवश्यक हुन्छ।


नरसरावपेटमा भएको यो असामान्य घटनाले चिकित्सक मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत चकित बनाएको छ। घटनाबारे थप विवरण तथा महिलाले ती वस्तु कसरी निलेकी थिइन् भन्ने विषयमा भने थप जानकारी सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP