म ढिलो घर फर्किँदा पनि
हजुरले कहिल्यै सोध्नुभएन—
“बाबु, कहाँ गएको थियौ?”
म कसैसँग घण्टौँ बोलिरहँदा पनि
हजुरले कहिल्यै भन्नुभएन—
“कोसँग यति धेरै बोलिरहेको छौ?”
मेरो फोन व्यस्त हुँदा,
मेरो जवाफ ढिलो हुँदा पनि
हजुरले एउटै कुरा सोच्नुभयो—
“मेरो छोरा व्यस्त छ…”
कति ठूलो मन रहेछ हजुरको, मम्मी!
मेरो बेवास्तालाई पनि
हजुरले मेरो व्यस्तता सम्झेर
चुपचाप माफ गरिरहनुभयो।
तर मम्मी,
यो संसारमा स्वार्थ लिनेहरूको कमी कहाँ छ र ?
आफ्नो काम पर्दा माया देखाउनेहरू धेरै छन्,
काम सकिएपछि चिनजान बिर्सनेहरू पनि धेरै छन्।
तर हजुर—
मेरो केही नचाहेर पनि
मेरो खुसी चाहनुभयो,
मेरो थकाइ बुझ्नुभयो,
र मेरो दुःखमा
आफ्नो आँसु लुकाउनुभयो।
हजुरले सधैँ सोध्नुभयो—
“खाना खायौ बाबु?”
तर मैले कति पटक सोधेँ होला—
“मम्मी, हजुरले खानुभयो?”
आज बुझ्दैछु—
संसारले स्वार्थ सिकाए पनि
निःस्वार्थ माया गर्न
हजुरले सिकाउनुभयो।
र ती स्वार्थीहरूलाई जवाफ दिन पनि
हजुरले नै सिकाउनुभएको छ।
मम्मी,
जति नै व्यस्त भए पनि,
जति नै टाढा पुगे पनि,
मन अन्ततः
हजुरकै काखमा आएर रोकिन्छ।
किनकि संसारले
मेरो आवश्यकता खोज्यो,
मेरो सफलता खोज्यो,
तर हजुरले मात्र
मलाई खोज्नुभयो—
म सफल हुँदा होइन,
म केवल “म” हुँदा पनि।
मम्मी,
हजुर मेरो जीवनको
त्यो निःस्वार्थ माया हुनुहुन्छ,
जसको ऋण
संसारका कुनै शब्दले
कहिल्यै तिर्न सक्दैन ।
(यस कविताका रचनाकार टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी हुनुहुन्छ।)
महोत्तरी । घरमा आफन्त र छिमेकीको बाक्लो आउजाउ छ। सबैले एउटै कुरा भन्छन्-‘विकासलाई केही हुँदैन, ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!