सगरमाथा–लोत्से आरोहण गर्ने सशस्त्रका दुई महिला प्रहरी सम्मानित

सगरमाथा–लोत्से आरोहण गर्ने सशस्त्रका दुई महिला प्रहरी सम्मानित

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल, नेपालका दुई महिला प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा जेठ ८ गते आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल ले सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की लाई सम्मान गरे ।

कार्यक्रममा महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेकी शेर्पा र सगरमाथा आरोही कार्कीलाई बधाई दिँदै हिमालको चुचुरोमा राष्ट्र तथा संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए ।

उनले उच्च मनोबल, आँट र साहसका साथ विश्वको सर्वोच्च शिखरमा राष्ट्र तथा संगठनको झण्डा फहराउँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबलमा समेत उत्साह, प्रेरणा र हौसला थपिएको बताए । यस्ता कार्यलाई संगठनले अझ उच्च प्राथमिकताका साथ अगाडि बढाउने पनि उनले बताए ।

महानिरीक्षक पौडेलले हिमाली तथा उच्च पहाडी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमता सुदृढ बनाउन संगठनले विशेष काम गरिरहेको बताए । मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमा उच्च भू–भाग खोज तथा उद्धारलगायतका तालिम सञ्चालन भइरहेकाले हिमाली क्षेत्रमा सुरक्षा तथा उद्धार कार्यमा सशस्त्र प्रहरी थप सक्षम बन्दै गएको उनले बताए ।

सम्मानित शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा विश्वको सर्वोच्च शिखरमा फहराउन पाउनु गर्वको विषय भएको बताए । सफल आरोहणका लागि सहयोग, समन्वय र साथ दिने सशस्त्र प्रहरी बल नेपालसहित सम्पूर्णप्रति उनीहरूले धन्यवाद व्यक्त गरे ।

अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।

सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही बनेका छन् । उनीहरूको ऐतिहासिक सफलताले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP