गृह सचिव राजकुमार श्रेष्ठद्वारा मनाङमा पर्वतीय उद्धार शिक्षालय उद्घाटन

गृह सचिव राजकुमार श्रेष्ठद्वारा मनाङमा पर्वतीय उद्धार शिक्षालय उद्घाटन

मनाङ । गृह सचिव राजकुमार श्रेष्ठले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-४ हुम्डेमा ३४२० मिटर उचाइमा रहेको सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालय उद्घाटन गरे तथा सि.स. २ उच्च भु-भाग खोज तथा उद्धार तालिमको समापन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै गृह सचिव श्रेष्ठले विपद् उद्धारमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान, त्याग र साहसको प्रशंसा गरे। उनले उच्च भु-भागमा गरिने खोज तथा जोखिमपूर्ण उद्धार कार्यले विपद्मा परेकाहरूको उद्धारसँगै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताए। सीमित स्रोतसाधनका बाबजुद पनि सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले आवश्यक दक्ष जनशक्ति र स्रोतसाधन व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताए। 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको भरोसायोग्य सुरक्षा संगठनका रूपमा स्थापित हुँदै आएको बताए। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक चुनौती सामना गर्न दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालय स्थापना गरिएको उनले बताए।

पौडेलले शिक्षालयको थप सुदृढीकरणका लागि आधुनिक उद्धार उपकरण, भौतिक पूर्वाधार, हेलिकप्टर सेवा तथा जोखिम भत्ताको व्यवस्था आवश्यक रहेको बताए। पर्वतीय उद्धार क्षमता सुरक्षा व्यवस्थाको विषय मात्र नभई राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय विश्वास तथा मानवीय जिम्मेवारीसँग प्रत्यक्ष जोडिएको उनले बताए।

उच्च भु-भाग खोज तथा उद्धार तालिमका ४ प्रशिक्षक र १८ प्रशिक्षार्थीले वैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमाल सफल आरोहण गरेको जानकारी कार्यक्रममा दिइयो।

२०७७ सालमा स्थापना भएको शिक्षालयले हालसम्म ७५ जनालाई आधारभूत, ५५ जनालाई एडभान्स तथा १ सय २० जनालाई रोप रेस्क्यु तालिम प्रदान गरेको छ। तालिमप्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङ लगायत हिमाली क्षेत्रमा उद्धार तथा खोजी कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP