हारपछि कार्यकर्तालाई धन्यवाद सभा: सचिन तिमिल्सिनाको भाषणले धेरैका आँखा रसाए

हारपछि कार्यकर्तालाई धन्यवाद सभा: सचिन तिमिल्सिनाको भाषणले धेरैका आँखा रसाए

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जाँदा नेपाली कांग्रेस देशभर कमजोर बनेको छ। समग्र परिणाममा कांग्रेस १७ सिटमा सीमित भएपछि पार्टीभित्र समीक्षा र बहस चलिरहेका बेला काठमाडौँ क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार सचिन तिमिल्सिनाको भावुक अभिव्यक्ति चर्चामा आएको छ।

चुनावमा पराजित भए पनि तिमिल्सिनाले आइतबार आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भेला गरी धन्यवाद सभा आयोजना गरे। कार्यक्रममा उनले मतदाताले दिएको जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्ने र निरन्तर जनताको सेवामा रहने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “देश बदल्ने योजना छोटो समयमा आम मतदातासमक्ष लिएर गयौं, तर त्यो कुरा हामीले तलसम्म पुर्‍याउन सकेनौं। जे होस्, लोकतन्त्रका पक्षधर हामी जनताले दिएको आदेश सहर्ष स्वीकार गर्छौं। हामी निरन्तर जनताकै सेवामा लागिरहन्छौं।”

तिमिल्सिनाले कांग्रेस सभापति गगन थापाको नेतृत्वप्रति गर्व व्यक्त गर्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे। “हामीलाई गर्व छ, हामीले गगन थापा जस्तो व्यक्तिलाई सभापति पाएका छौं। उहाँले सारा कांग्रेसजनमा नयाँ ऊर्जा भर्नुभएको छ,” उनले भने।

देशभर कांग्रेसले कमजोर नतिजा पाए पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। “अहिले पनि १७ जना कांग्रेस सांसदले संसदमा जनताको प्रतिनिधित्व गरिरहनुभएको छ। ती सबैलाई बधाई,” उनले भने।

सभापति गगन थापाले हिमाल, पहाड र तराई जोड्ने उद्देश्यसहित सर्लाहीबाट चुनाव लडेको प्रसंग उल्लेख गर्दै तिमिल्सिनाले कार्यकर्तालाई एकजुट रहन आग्रह गरे। “हामी गगन थापाका कार्यकर्ता हौं। बिचलित नहुनुहोस्, हामी तपाईंको साथमा छौं,” उनले भने।

केही व्यक्तिले गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने टिप्पणी गरेको प्रसंगतर्फ संकेत गर्दै उनले कडा प्रतिक्रिया पनि दिए।

“दशकौँदेखि थुपारिएको फोहोर दुई महिनामा हामीले सफा गर्न सकेनौं भन्दैमा गल्ती गर्ने अरु, दण्ड भोग्ने गगन—यो कुरा कदापि सह्य हुन सक्दैन,” उनले स्पष्ट पारे।

चुनावमा हार बेहोरे पनि घरदैलो अभियानका क्रममा मतदाताबाट पाएको माया जीवनभर सम्झिरहने उनले बताए। “घरदैलोमा जाँदा पाएको त्यो माया म मनमा सजाएर राख्नेछु। सबैलाई धन्यवाद, साधुवाद। तपाईंहरूको आशा भरोसा कहिल्यै टुट्न दिनेछैनौं,” उनले भने।

उनको भावुक अभिव्यक्तिपछि कार्यक्रममा उपस्थित धेरै कार्यकर्ताहरूको आँखामा आँसु देखिएको थियो। चुनावी पराजयपछि पनि कार्यकर्तासँग कृतज्ञता व्यक्त गर्दै आत्मविश्वासका साथ अघि बढ्ने सन्देश दिएको भन्दै उपस्थितहरूले तिमिल्सिनाको प्रशंसा गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उपराष्ट्रपतिद्वारा शोक व्यक्त !
3 घण्टा अगाडि

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

छुटाउनुभयो कि ?

TOP