कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले जित दोहो-याउने दाउमा

महेन्द्रनगर, माघ १५ - आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ ।    
    
 राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र नं १ मा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तारा लामा तामाङसित पराजित हुनुभएको थियो । नेकपा एमालेले यस क्षेत्रबाट पुनः तामाङलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा सुदूरपश्चिमबाट बैतडी र कञ्चनपुर–१ मा मात्रै एमालेले चुनाव जितेको थियो ।    
    
 नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना भने २०७४ सालको जित फर्काउने रणनीतिअनुसार चुनावी मैदानमा हुनुहुन्छ ।    
    
 क्षेत्र नं १ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीसितको मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय पहिलोपटक चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि पहिलोपटक जनकसिंह धामी मैदानमा हुनुहुन्छ । स्वतन्त्रसहित १९ जना उम्मेदवार रहेको क्षेत्र नं १ मा प्रमुख तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।    
    
 त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पनि चुनावी भिडन्त रोचक हुँदै छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री नारायणप्रकाश साउँद चुनावी मैदानमा हुनुहुन्छ । लगातार यहाँबाट चुनाव लड्दै आउनुभएका साउँद २०७९ सालको निर्वाचनमा यहाँबाट विजयी हुनुभएको थियो । उहाँले नेकपा (एमाले)का उम्मेदवार नरबहादुर धामीलाई पराजित गर्नुभएको थियो । २०७४ सालको निर्वाचनमा एमालेका धामीले साउँदलाई पराजित गर्दै यहाँबाट निर्वाचित हुनुभएको थियो । यो पटक एमालेबाट यहाँ युवानेता बचनबहादुर सिंह चुनावी मैदानमा हुनुहुन्छ ।    
    
 त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पनि यही क्षेत्रलाई रोजेर पहिलोपटक चुनावी मैदानमा सक्रियता बढाउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीले युवा नेता माधव पन्तलाई उम्मेदवार बनाएको छ । माधवको पनि प्रतिनिधिसभाको पहिलो चुनावी भिडन्त हो ।    
    
 त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पर्ने निर्वाचन क्षेत्र नं ३ आसन्न निर्वाचन चर्चाको केन्द्रमा छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार हुनबाट वञ्चित गरेपछि यहाँको चुनावी माहोल अझ रोचक देखिन्छ । पार्टी सङ्गठनका हिसाबले कञ्चनपुर क्षेत्र नं ३ नेपाली कांग्रेसका मजबुद क्षेत्र मानिन्छ । यही क्षेत्रबाट पटक–पटक नेता लेखक विजयी हुनुभयो । तर हाल कांग्रेसभित्रको आन्तरिक कलह र विवाद भइरहँदा यहाँबाट कांग्रेसका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहराले टिकट ल्याउनुभएको छ । तर निर्वाचनमा बाजी मार्न भने निकै मेहनत गर्नुपर्ने स्थानीयको भनाइ छ ।    
    
 पहिलोपटक प्रतिनिधीसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नुभएका बोहरालाई कांग्रेसको विरासत निर्वाचन जितेर जोगाउनुपर्ने चुनौती छ । उता नेकपा (एमाले) ले यहाँबाट पूर्वसांसद डा दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ । भट्टले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता रमेश लेखकलाई पराजित गर्नुभएको थियो । २०७९ सालमा भने कांग्रेस नेता लेखकले यहाँ एमाले नेत्री नीरुदेवी पाललाई भारी मतान्तरले पारजित गर्दै विजयी हुनुभएको थियो ।    
    
 त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नुभएका नेता मानबहादुर सुनार पनि यहाँ बलियो पकड भएका नेताका रुपमा चिनिनुहुन्छ । प्रदेशसभा सदस्य भइसक्नुभएका सुनारको आधार क्षेत्र महाकाली नदी पारिको दोधारा चाँदनी मानिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई चुनावी मैदानमा उतारेको छ । यो क्षेत्रमा यो पटक नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।    
    
 नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव भीमराज भट्टले तीन वटै निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समिति गठन गरेर चुनावी मैदानमा होमिएको जानकारी दिनुभयो । “९२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने तयारी पनि छ,” सचिव भट्टले भन्नुभयो, “विभिन्न तहमा बैठक बसेर पार्टीलाई सक्रिय गराउने काम भइरहेको छ ।”    
    
 त्यसैगरी नेकपा (एमाले)का सचिव पल्लभराज भट्टले विभिन्न तहमा पार्टीको चुनाव केन्द्रित बैठकहरु सञ्चालन भइरहेको बताउनुभयो । “पार्टीको केन्द्रको घोषणा पत्र आएपछि स्थानीय एजेन्डा थपेर जिल्लामा पनि घोषणा पत्र बनाउने छौँ,” उहाँले भन्नुभयो, “हामी आसन्न निर्वाचनको व्यापक आन्तरिक तयारीमा जुटेका छौँ ।”    

[RSS]

 

प्रतिक्रिया

सम्बन्धित समाचार

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने !
5 घण्टा अघि

काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP