राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी (सुनसरी), माघ-११ गते इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गर्नुभएको हो ।     
    
 उद्घाटन समारोहमा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।     
    
 राष्ट्रपति रनिङ शिल्डअन्तर्गत राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरपालिकाले विशेष सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रमुख पौडेलले प्रतिबद्धता जनाउनुभयो । खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्दै जाने उहाँको भनाइ छ ।    
    
 उपमहानगरको शैक्षिक शाखा प्रमुख रमेश शाहले उपमहानगरभित्रका माध्यमिक तहका विद्यार्थी प्रतियोगितामा सहभागी हुने जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पालिकास्तरीय र त्यसपछि उच्च तहको प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।    
    
 प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाई जम्प, लङ जम्पलगायतका विभिन्न खेल विधा समावेश गरिएको छ । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति छ । उपमहानगरले यस्ता प्रतियोगितामार्फत विद्यालयस्तरमा प्रतिभावान् खेलाडी पहिचान गरी उनीहरूको क्षमता विकास हुने जनाएको छ । 

[RSS]    

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP