प्रधानमन्त्रीसहित चौतर्फी दबाबपछि राजीनामा दिने तयारीमा कुलमान घिसिङ

प्रधानमन्त्रीसहित चौतर्फी दबाबपछि राजीनामा दिने तयारीमा कुलमान घिसिङ

काठमाडौं पुस २३-प्रधानमन्त्री सुशीला कार्कीसहित चौतर्फी दबाब बढेपछि ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ राजीनामा दिने तयारीमा पुगेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको अन्त्यतिर प्रधानमन्त्री कार्कीले दलमा आबद्ध भई आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन अनुरोध गरेकी थिइन्। नागरिक सरकारमा दलीय गतिविधिमा संलग्न मन्त्री रहेको भन्दै चर्को आलोचना भएपछि यस्तो आग्रह गरिएको हो।

वर्तमान सरकारमा कुलमान घिसिङसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी तयारीमा रहेको बताइन्छ। घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति हुन् भने अन्य दुई मन्त्री पनि सोही पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन्।

प्रधानमन्त्रीको अनुरोधपछि पनि तत्काल राजीनामा नदिएका घिसिङले मंगलबार दिएको “मैले आजसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन” भन्ने अभिव्यक्तिले झनै विवाद उत्पन्न गरेको उनीनिकट स्रोतले जनाएको छ। उक्त अभिव्यक्तिपछि पार्टीभित्र र बाहिरबाट थप प्रश्न उठेपछि घिसिङ राजीनामातर्फ तयार भएको स्रोतको भनाइ छ।

घिसिङले सम्भवतः एक–दुई दिनभित्र राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय भएको छ भने माघ ६ गते उम्मेदवार मनोनयन दर्ताको कार्यसूची रहेको छ। त्यसअघि नै राजीनामा दिएर चुनावी अभियानमा होमिने तयारी रहेको बताइन्छ।

यसअघि जेनजी मुभमेन्ट नेपालले पनि नागरिक सरकारमा दलीय मन्त्री हुन नपाउने भन्दै मन्त्री घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई बर्खास्त गर्न माग गरेको थियो। मुभमेन्टले सरकारको दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP