विद्यालयको जग्गा व्यक्तिका नाममा, ६ जना विरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं पुस १६-विद्यालयको नाममा दर्ता रहेको सार्वजनिक जग्गा मिलेमतोमा व्यक्तिका नाममा लगेर हिनामिना गरेको अभियोगमा भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष र मालपोत प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, आयोगका कास्की सदस्य तथा तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्यहरू आसबाहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली तथा नक्कली कागजात प्रयोग गरी जग्गा हत्याउने भीमबहादुर विक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले सबै प्रतिवादीविरुद्ध जनही १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिम जरिवाना, कैद सजाय तथा बिगो असुलउपरको मागदाबी गरेको छ।

अनुसन्धानका क्रममा कास्कीको पोखरा महानगरपालिका–२६, कन्धानी डाँडास्थित अमर ज्योति आधारभूत विद्यालयको भोगचलनमा रहेको ३ रोपनी ३ आना जग्गा भूमि आयोगका पदाधिकारी र मालपोत प्रमुखको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार प्रतिवादी भीमबहादुर विक सुकुम्बासी नभए पनि उनलाई सुकुम्बासी देखाइ झुट्टा विवरण र फर्जी कागजातका आधारमा आयोगमा निवेदन दिन लगाई सार्वजनिक जग्गा हडपिएको हो। यसअघि विककी श्रीमती सुकमाया कामीको नाममा पनि सुकुम्बासीको हैसियतमा जग्गा उपलब्ध गराइएको तथ्यसमेत अनुसन्धानबाट खुलेको छ।

अभियोगपत्रमा उल्लेख भएअनुसार, प्रतिवादीहरूलाई विक सुकुम्बासीको परिभाषाभित्र नपर्ने व्यक्ति भएको जानकारी हुँदाहुँदै पनि गैरकानुनी लाभ लिने–दिने उद्देश्यले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराइएको हो। उक्त जग्गा २०८० चैत ५ गते मालपोत कार्यालय कास्कीबाट विकको नाममा दर्ता गरिएको अख्तियारले जनाएको छ।

सार्वजनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको विद्यालयको जग्गा व्यक्तिको नाममा लगेर राज्यलाई ठूलो क्षति पुर्‍याइएको ठहर गर्दै अख्तियारले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP