नेपाल वैदेशिक रोजगार व्यवसायको भविष्य: महासचिव पदका उम्मेदवार कर्णराज कटुवालसँग विशेष अन्तरवार्ता

नेपाल वैदेशिक रोजगार व्यवसायको भविष्य: महासचिव पदका उम्मेदवार कर्णराज कटुवालसँग विशेष अन्तरवार्ता

चैत्र २९ गतेको चुनावमा प्रतिस्पर्धा हुने महासचिव पदका उम्मेदवार कर्णराज कटुवालसँग एक विशेष कुराकानी

काठमाडौँ, २३ चैत्र  – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिव पदका उम्मेदवार कर्णराज कटुवालसँगको विशेष अन्तरवार्तामा हामीले वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरू, समाधानका उपाय र आगामी योजनाहरू बारेमा चर्चा गर्यौं।

प्रश्न १: तपाईंको अनुभव र यो क्षेत्रमा तपाईंले पुर्‍याएको योगदानको बारेमा थोरै बताउनुहोस्।

उत्तर: धन्यवाद। म विगत १५ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा समर्पित छु। यो अवधिमा म विभिन्न देशहरूमा सुरक्षित, मर्यादित र व्यवस्थित श्रमिक आपूर्तिका लागि निरन्तर लागिपरेको छु। यसअघि, म नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सचिवको जिम्मेवारी सम्हालिरहेको थिएँ, जहाँ मेरो कार्यकालमा व्यवसायीहरूको हकहितमा केही ठूला सुधारहरू ल्याउन सफल भएँ। मेरो नेतृत्वमा, संघले व्यवसायीहरूको बीचमा विश्वास र एकता स्थापना गरेको थियो र धेरै व्यावसायिक समस्या समाधान भएको थियो। यसका कारण, म व्यवसायी समुदायमा निकै लोकप्रिय भएँ र आज पनि मसँग भएका अनुभव र विचारले म पुनः महासचिवको जिम्मेवारी लिन तयार छु।

प्रश्न २: महासचिव पदका लागि उम्मेदवारी दिनुको मुख्य उद्देश्य के हो?

उत्तर: संघको नेतृत्व परिवर्तन मात्र होइन, यसको कार्यशैलीमा पनि आमूल सुधार ल्याउनु मेरो उद्देश्य हो। व्यवसायीहरूको हकहित संरक्षण, श्रमिकको अधिकार सुनिश्चितता, नीति निर्माणमा व्यवसायीको आवाज र दक्ष जनशक्तिको अभिवृद्धि – यी सबै म सशक्त ढंगले उठाउनेछु। यसका लागि म व्यवस्थित योजना र नीतिहरू ल्याउनेछु जसले व्यवसायलाई अगाडि बढाउन मद्दत पुर्याउनेछ।

प्रश्न ३: हाल व्यवसायीहरूले भोगिरहेको प्रमुख समस्या के-के छन् र तपाईंको दृष्टिकोणमा समाधान के हुन सक्छ?

उत्तर: समस्याहरू धेरै छन्, तर मुख्य समस्या भनेको वैदेशिक रोजगार क्षेत्रमा रहेको अनिवार्य संख्या हटाउने र खारेज गर्ने आवश्यकतालाई हामीले उठाउनुपर्ने हो। यसका अलावा, युरोपका मागपत्रको प्रमाणीकरणमा समस्या भइरहेको छ, जसलाई अबिलम्ब समाधान गर्नुपर्ने छ। हामीले वैदेशिक रोजगारमा पठाएका कामदारहरूको सीपलाई राज्यसँग मिलेर एकीकृत र व्यवस्थित बनाउनुपर्ने छ। यसका साथै, व्यवसायीहरूको हकहितमा अझै धेरै काम गर्नुपर्ने छ। भलाइ कोष स्थापन गरेर व्यवसायीहरूको लागि आर्थिक सुरक्षा र फाइदा सुनिश्चित गर्न पनि म विशेष योजना बनाएको छु। अर्को प्रमुख समस्या भनेको वैदेशिक रोजगार विभागमा व्यवसायीहरूले राखेको धरौटीको ब्याज अहिले चलाउन मिल्दैन। यसलाई अबिलम्ब चलाउन मिल्ने गरि वातावरण बनाउने प्रयास गर्नेछु, ताकि व्यवसायीहरूको आर्थिक समस्या समाधान होस्। यसका लागि, म तीन सूत्रीय समाधान अघि सारेको छु: १. नीति संवाद संयन्त्र – सरकारसँग नियमित वार्ता र सल्लाह
२. डिजिटल प्रविधिको समुचित प्रयोग – ई-फाइलिङ, ट्र्याकिङ सिस्टम
३. व्यवसायमैत्री कानून निर्माण – व्यवसायीको सुझावलाई कानून निर्माण प्रक्रियामा समावेश गरिनेछ।

प्रश्न ४: तपाईं नरेश गेलाल नेतृत्वको संयुक्त व्यवसायी समूहबाट उम्मेदवार हुनुहुन्छ। यो समूहको विशेषता के हो?

उत्तर: हाम्रो समूह वैदेशिक रोजगार व्यवसायीहरूको साझा भावना, सुधारको संकल्प र पारदर्शी नेतृत्वमा विश्वास गर्छ। अनुभव र ऊर्जा बीचको समन्वय हो हाम्रो बल। नरेश गेलालज्यूको नेतृत्वमा हामी सबै व्यवसायीको हितका लागि एक भएर अघि बढिरहेका छौं। हाम्रो समूहले नयाँ सोच, विश्वास र कार्यान्वयनमा शक्ति राख्छ।

प्रश्न ५: तपाईं सचिवको जिम्मेवारी सम्हाल्दा व्यवसायीहरू माझ कस्तो प्रभाव छोड्न सफल हुनुभयो?

उत्तर: सचिवको पदमा मेरो कार्यकालमा मैले व्यवसायीहरूको मुद्दालाई ध्यानपूर्वक उठाउँदै संघको प्रतिष्ठा बढाउन सफल भएँ। मैले सरकारसँग नियमित संवाद राख्दै, नयाँ नीतिहरू र प्रणालीहरूको सुरुवात गरें जसले व्यवसायीहरूको कामलाई सजिलो बनायो। साथै, वैदेशिक रोजगार विभागको प्राङ्गणमा आफ्नै दुई कोठे भवन निर्माण गरेर व्यवसायीहरूको लागि अधिक सुविधा उपलब्ध गराएको थिएँ। मैले व्यवसायीहरूको हरेक समस्यामा दिनरात खटेको छु – कहिले प्रहरी बृत्त, कहिले वैदेशिक रोजगार विभाग, मन्त्रालय, अथवा अध्यागमन विभाग गएर काम गरेको छु।
नेपाल वैदेशिक रोजगार विभागको आफ्नै भवन खरिद गरेर हामीले व्यवसायीहरूको लागि एक स्थायी र सुरक्षित स्थानको सुनिश्चितता गरेका छौं। यसका कारण, मैले व्यवसायी समुदायमा ठूलो लोकप्रियता प्राप्त गरेँ र आज मेरो अनुभव र नेतृत्वलाई महासचिवको पदमा लाने सोच राखेको छु। यसरी मैले हजारौं मुद्दाहरू समाधान गरेको छु र आगामी दिनमा पनि त्यस्तै सक्रिय रहिरहनेछु।

प्रश्न ६: तपाईंको नेतृत्वमा वैदेशिक रोजगार व्यवसायको भविष्य कस्तो देखिन्छ? के-के योजनाहरू छन्?

उत्तर: मैले मेरो नेतृत्वमा तीन प्रमुख योजनामा काम गर्ने सोच राखेको छु: १. व्यवसायीहरूको क्षमता अभिवृद्धि – तालिम र शिक्षा कार्यक्रमहरूलाई प्रोत्साहन।
२. पारदर्शिता र न्यानो वातावरणको सिर्जना – व्यवसायीको हक र अधिकारका लागि।
३. नवीनतम प्रविधि प्रयोग – ई-सिस्टम र डिजिटल प्रक्रियाहरूलाई मुख्यधारामा ल्याउने।

प्रश्न ७: अन्त्यमा, तपाईंका मतदाताहरूप्रति तपाईंको सन्देश के छ?

उत्तर: मैले बोलेको मात्र होइन, काम गरेर देखाएको छु। अबको महासचिव व्यवसायीको आवाज बन्नुपर्छ – नीतिनिर्माणदेखि कार्यान्वयनसम्म।
म तपाईंहरू सबैको साथ, विश्वास र मतको अपेक्षा गर्दछु – ताकि हामी मिलेर व्यावसायिक गरिमाको रक्षा र प्रवर्द्धन गर्न सकौं।
मत दिनुहोस् – कर्णराज कटुवाललाई, जसले सुनेको छ तपाईंको आवाज।

 

आगामी चुनावको महत्त्व: याद राख्नुहोस् कि आगामी चैत्र २९ गते नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव हुँदैछ। यस चुनावमा महासचिव पदको साथै सम्पूर्ण संघका पदाधिकारीहरूको लागि पनि प्रतिस्पर्धा हुनेछ

रेड मिडिया विशेष 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP