पोखरामा ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञको तयारी, संकल्प सभा आईतबार डोमसाइडमा

पोखरामा ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञको तयारी, संकल्प सभा आईतबार डोमसाइडमा

पोखरा,२३ चैत  – बालयोगेश्वर विजय श्री कृष्णमूर्ति जी महाराजज्यूको सत्संकल्पमा आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा–१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर तथा आसपासको क्षेत्रलाई केन्द्र बनाएर आयोजना हुन लागेको श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को तयारीलाई तीव्रता दिइएको छ।

महायज्ञको सफल आयोजना सुनिश्चित गर्न संकल्प सभा यही आईतबार (चैत २४ गते) बिहान १० बजे पोखरा–१७ डोमसाइडस्थित स्ट्रिट नं. १२ मा रहेको रोयल महल ब्याङ्क्वेटमा आयोजना गरिने भएको छ।

संकल्प सभामा धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, साधु-सन्त, धर्मप्रेमी नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा महायज्ञको उद्देश्य, व्यवस्थापन र कार्यक्रम अवधिभर सञ्चालन हुने गतिविधिबारे जानकारी गराइनेछ।

गायत्री मन्त्रमार्फत आध्यात्मिक चेतनाको जागरण, धार्मिक पुनर्जागरण र समाजमा नैतिक मूल्य र संस्कारको स्थापनालाई लक्षित यस विराट महायज्ञमा देशभरबाट लाखौं श्रद्धालु र भक्तजनको सहभागिता रहने विश्वास गरिएको छ।

महायज्ञ अवधिमा दैनिक प्रवचन, रात्रिकालीन भजनकीर्तन, योग, ध्यान तथा संस्कारमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, मुल आयोजक समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन, समाजसेवी र धर्मप्रेमी महानुभावहरूलाई संकल्प सभामा विशेष स्वागत, अभिनन्दनसहित हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP