चितवन राष्ट्रिय निकुञ्ज घुम्न अब घरबाटै टिकट काट्न सकिने

चितवन राष्ट्रिय निकुञ्ज घुम्न अब घरबाटै टिकट काट्न सकिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन्। निकुञ्जले पर्यटकको सहजताका लागि विद्युतीय टिकट (इ–टिकटिङ) प्रणाली सुरु गरेको हो।

पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ। यसको परीक्षण र नतिजाका आधारमा निकुञ्जका अन्य प्रवेश नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायीले भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो।

बिहीबार चितवन क्षेत्र नम्बर १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले संयुक्त रूपमा प्रणालीको उद्घाटन गरेका हुन्।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जको कुल राजस्वमध्ये ७० देखि ७५ प्रतिशत सौराहा क्षेत्रबाट सङ्कलन हुने गरेको छ। पर्यटकको ठूलो हिस्सा पनि यही क्षेत्रबाट प्रवेश गर्ने भएकाले पहिलो चरणमा सौराहामा सेवा सुरु गरिएको उनले बताए।

नयाँ प्रणालीबाट पर्यटकले आवश्यक विवरण भरेर टिकट काट्न सक्नेछन्। प्रक्रिया पूरा भएपछि प्राप्त हुने क्यूआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ। प्रणाली सञ्चालन गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको वेबसाइट र फेसबुक पेजमा ट्युटोरियलसमेत राखिने जनाइएको छ।

सांसद ढकालले प्रविधिमा आधारित सेवालाई प्रभावकारी बनाउन सुरुवाती चरणमा देखिने प्राविधिक समस्या समाधान गर्दै पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेट्नुपर्ने बताए। उनले निकुञ्ज प्रवेशका लागि हाल एक दिन मात्र मान्य हुने टिकटलाई तीन दिनसम्म प्रयोग गर्न मिल्ने व्यवस्था गर्न पहल भइरहेको पनि जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन्। निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ बुझाउनुपर्छ।

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो। पर्यापर्यटनबाट निकुञ्जले गत आर्थिक वर्षमा २७ करोड ६३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP