हेटौंडा । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीपछि रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत क्षेत्रमा उत्पन्न विपद् व्यवस्थापनका लागि बागमती प्रदेश सरकार सक्रिय रूपमा परिचालित भएको छ। प्रदेश सरकारले प्रभावित नागरिकको उद्धार, राहत, उपचार, अस्थायी आवास तथा सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न निर्णय र कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी प्रेस वक्तव्यअनुसार बाढी प्रभावित क्षेत्रको अवस्थाबारे भदौ १० गते बसेको बागमती प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले तत्काल उद्धार तथा राहत कार्य तीव्र पार्ने निर्णय गरेको थियो। त्यसअनुसार मुख्यमन्त्री, सम्बन्धित मन्त्रीहरू, प्रमुख सचिव, सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा खटिएका छन्।
प्रदेश सरकारले बाढीका कारण घरबारविहीन बनेका नागरिकका लागि अस्थायी बसोबास र भोजनको व्यवस्था गरेको छ। बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन रसुवा र नुवाकोटका स्थानीय विपद् व्यवस्थापन कोषमा दुई–दुई करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ गरी कुल तीन करोड रुपैयाँ उपलब्ध गराइएको छ।
बाढीका कारण धुन्चे–त्रिशूली र काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडक सञ्चालनलाई तीव्रता दिएको छ। साथै धुन्चेदेखि महावीर, चौगडादेखि काठमाडौं तथा विदुरदेखि काठमाडौंसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।
प्रेस वक्तव्यमा बाढीले ४० भन्दा बढी पुलमा क्षति पुर्याएको उल्लेख गर्दै वैकल्पिक आवागमनका लागि बेलिब्रिज, झोलुङ्गे पुल र तुइन निर्माणको सम्भाव्यता अध्ययन तथा निर्माण प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
प्रदेश सरकारले प्रभावित स्थानीय तहसँग वास्तविक क्षति विवरण संकलन गरिरहेको र आवश्यकताअनुसार थप राहत उपलब्ध गराउन तयारी अवस्थामा रहेको जनाएको छ। प्रभावित क्षेत्रमा खटिएका प्रदेश मातहतका कर्मचारीलाई अर्को आदेश नभएसम्म कार्यस्थल नछोड्न निर्देशन दिइएको छ भने हेटौंडास्थित विभिन्न मन्त्रालयका थप जनशक्ति समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
प्रदेश सरकारको टोली जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवालासँग प्रत्यक्ष समन्वयमा रहेको जनाइएको छ। विपद् विज्ञ डा. दीपक विक्रम थापाले समेत विज्ञ सल्लाहकारका रूपमा सहयोग गरिरहेका छन्।
बागमती प्रदेश सरकारले विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ।
काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!