श्रीलंकाबाट नेपाललाई १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा

श्रीलंकाबाट नेपाललाई १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा

काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।

श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिअनुसार श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन्।

राष्ट्रपति दिसानायकेले विपद्का कारण भएको ज्यानको क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।

नेपाल र श्रीलंकाबीचको लामो तथा घनिष्ठ मित्रता र ऐक्यबद्धताको स्मरण गर्दै उनले यस सङ्कटको घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका छन्।

विज्ञप्तिमा उक्त आर्थिक सहयोग बाढी र पहिरोबाट प्रभावित समुदायको तत्काल राहत तथा मानवीय सहायताका लागि उपयोग गरिने उल्लेख गरिएको छ।

यसैबीच, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन संवाद गर्दै नेपालप्रति समवेदना, निरन्तर समर्थन र ऐक्यबद्धता प्रकट गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP