काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामहरू युद्धस्तरमा सञ्चालन भइरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत देशवासीका नाममा सम्बोधन जारी गर्दै उनले सरकार सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर प्रभावित नागरिकको जीवनरक्षा, राहत र पुनःस्थापनामा केन्द्रित रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार तथा राहतका लागि ३९४ उडान सञ्चालन भइसकेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालित छन्।
उनले रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा नेपाली सुरक्षा निकायसँगै चीन, भारत र दक्षिण कोरियाका विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको जानकारी दिएका छन्। माथिल्लो त्रिशूली–१ क्षेत्रबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अनुसार बाढीमा घाइते भएका २६७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार गराइएको छ। तीमध्ये १५६ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य घाइतेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। प्रभावित क्षेत्रमा मनोपरामर्श तथा स्वास्थ्य सेवा विस्तारका लागि चिकित्सक टोली पनि परिचालन गरिएको छ।
आर्थिक सहयोगतर्फ प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर प्राप्त भएको प्रधानमन्त्रीले बताएका छन्।
राहत वितरणका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले एसियाली विकास बैंक, विश्व बैंक, अमेरिका, अष्ट्रेलिया, भारत, चीन र स्विट्जरल्यान्डलगायत मुलुक तथा संस्थाबाट आर्थिक, प्राविधिक तथा मानवीय सहायता प्राप्त भइरहेको बताएका छन्। भारतबाट हालसम्म ६८.५ टन राहत सामग्री प्राप्त भएको छ भने चीनबाट ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको जानकारी दिएका छन्।
सञ्चार सेवातर्फ अधिकांश क्षेत्रमा सेवा पुनः सञ्चालन भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले बाढीका कारण अवरुद्ध भएका दूरसञ्चार टावरहरू पुनः सञ्चालन गर्ने काम तीव्र गतिमा भइरहेको बताए।
प्रधानमन्त्री शाहले बाढीमा परी ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको जानकारी दिँदै पहिचान भएका शव आफन्तलाई जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको बताएका छन्।
सम्बोधनको अन्त्यमा उनले विपद्को यस कठिन घडीमा सरकारले प्रभावित प्रत्येक नागरिकको अभिभावक बनेर काम गरिरहेको उल्लेख गर्दै राहत, पुनर्निर्माण र पुनःस्थापनाको कार्य पूर्ण नतिजा नआएसम्म निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!