धनुषा । मधेस प्रदेशमा सौन्दर्य व्यवसायमा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको मिस ब्युटिसियन मधेस २०८३ को पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। धनुषाको लालगढस्थित गौतम होटलमा आयोजित ग्रान्ड फिनालीमा ब्राइडल मेकअपतर्फ जेनिसा विश्वकर्माले ५० हजार रुपैयाँ नगदसहित विजेताको उपाधि जितेकी छन्।
लडबुद्ध सीप तथा तालिम केन्द्रको आयोजना तथा न्यू कामना ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा सम्पन्न प्रतियोगितामा मधेस प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका ४५ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगितामा ब्राइडल मेकअप, नेल आर्ट र हेयर कटिङ गरी तीन विधामा प्रतिस्पर्धा गरिएको थियो।
ग्रान्ड फिनालीमा ब्राइडल मेकअपतर्फ ३२ जना, नेल आर्टतर्फ ९ जना र हेयर कटिङतर्फ ४ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए। कडा प्रतिस्पर्धाबीच जेनिसा विश्वकर्मा विजेता घोषित भइन्। सविना लकान्द्री फर्स्ट रनरअप बन्दै ३० हजार रुपैयाँ र निकिशा श्रेष्ठ सेकेन्ड रनरअप बन्दै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए।
हेयर कटिङतर्फ रोजी श्रेष्ठ विजेता घोषित भइन् भने रञ्जना श्रेष्ठ फर्स्ट रनरअप र सिमला महतो सेकेन्ड रनरअप बने। त्यस्तै नेल आर्टतर्फ सुजता परियार विजेता, प्रश्नाबल फर्स्ट रनरअप र साक्षी शाह सेकेन्ड रनरअप घोषित भए।
विशेष अवार्डतर्फ ब्राइडल मेकअप विधामा रमिता सिंहले बेस्ट पर्फर्मेन्स अवार्ड, ममता भगतले बेस्ट स्पिच अवार्ड, जेनिसा विश्वकर्माले बेस्ट फोटोजेनिक अवार्ड, सरस्वती शर्माले पब्लिक च्वाइस अवार्ड तथा सन्जु कुमारी शाहले बेस्ट कन्फिडेन्ट अवार्ड प्राप्त गरेका थिए।
प्रतियोगिताको सभाध्यक्ष लडबुद्ध सीप तथा तालिम केन्द्रका अध्यक्ष घमराज श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथिका रूपमा बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री उपस्थित थिए। मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकी, कर्जना नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ, सौन्दर्यकला व्यवसायी संघकी आजीवन सदस्य तथा कार्यक्रम संयोजक सरु श्रेष्ठकी गुरु लक्ष्मी पौडेल तथा वरिष्ठ सौन्दर्यविद् लक्ष्मी पोखरेल विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको निर्णायक मण्डलमा गोङ्गबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक तथा नेपाल ब्राइडल मेकअप कम्पिटिसनकी आयोजक सौन्दर्यविद् ज्ञानी महर्जन, सौन्दर्य शिक्षा करिकुलम डेभलपर तथा सौन्दर्यविद् सुमा चित्रकार र उल्सा फिल्म प्रोडक्सनका अध्यक्ष सागर यादव रहेका थिए।
कार्यक्रममा चर्चित गायक कमल खत्रीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको उद्घोषण चर्चित उद्घोषक तथा गायिका विष्णुमाया पौडेलले गरेकी थिइन्। आयोजकका अनुसार पौडेलले प्रतियोगिताअघि मधेस प्रदेशका विभिन्न जिल्लामा १० दिनसम्म उद्घोषण प्रशिक्षण तथा कोरियोग्राफीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
अग्रज ब्युटिसियन, समाजसेवी, व्यवसायी, विभिन्न संघसंस्था तथा कम्पनीका प्रतिनिधिको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा ६ सयभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रमुख अतिथि मेयर प्रल्हाद कुमार क्षेत्रीले मिस ब्युटिसियन मधेसलाई मधेस प्रदेशकै गौरवका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै महिलाको सीप, क्षमता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। उपमेयर सुनिता सिंह बुढाथोकीले महिलाको नेतृत्व विकास, आत्मनिर्भरता र सशक्तीकरणका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरिन्।
कार्यक्रम संयोजक सरु श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, प्रशिक्षक, निर्णायक तथा सहभागीप्रति आभार व्यक्त गरिन्। सभाध्यक्ष घमराज श्रेष्ठले पहिलो संस्करणमै प्राप्त उत्साहजनक सहभागिता र सफलताले आगामी वर्षहरूमा कार्यक्रमलाई अझ भव्य र प्रभावकारी रूपमा आयोजना गर्ने प्रेरणा दिएको बताए।
मधेस प्रदेशमा सौन्दर्य व्यवसायमा आबद्ध महिलाहरूको प्रतिभा र सीपलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको मिस ब्युटिसियन मधेस २०८३ ले पहिलो संस्करणमै उल्लेखनीय सफलता हासिल गरेको आयोजकहरूको दाबी छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!