२२.५ मेगावाटको अपर ठूलोखोला हाइड्रोबाट विद्युत् राष्ट्रिय प्रणालीमा

२२.५ मेगावाटको अपर ठूलोखोला हाइड्रोबाट विद्युत् राष्ट्रिय प्रणालीमा

म्याग्दी।म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्माण गरिएको २२ दशमलव ५ मेगावाट क्षमताको अपर ठूलोखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना, उपकरण जडान तथा आन्तरिक परीक्षण सम्पन्न भएपछि परीक्षण उत्पादनका रूपमा विद्युत् केन्द्रीय लाइनमा पठाउन थालिएको हो।

 आयोजनाका प्रमुख शिवसागर यादवका अनुसार फागुन २९ गतेदेखि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादन सुरु गरिएको थियो।

पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको उनले जानकारी दिए। परीक्षण सफल भएसँगै करिब १५ दिनपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरेको छ।

हाल सुक्खायामका कारण आयोजनाबाट करिब १३ दशमलव ८६ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ। आयोजना ‘रन अफ द रिभर’ प्रविधिमा आधारित रहेको छ।

आयोजनाअन्तर्गत बाँध, विद्युत्गृह, पाइपलाइन तथा प्रसारण लाइन निर्माण गरिएको छ। फेदीदेखि बन्दीसम्म १४ वटा टावरमार्फत करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी दाना–खुर्कोट २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको हो।

करिब पाँच अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। बाँकी लगानी प्रवर्द्धक र सर्वसाधारणका लागि सेयरमार्फत जुटाइने बताइएको छ।

राहुघाट नदी प्रणालीमा यसअघि पनि विभिन्न जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने केही आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP