काठमाडौं। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको अवस्थालाई केही विक्रेता र उद्योगीहरूले फाइदा उठाउँदै उपभोक्तासँग सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुल्न थालेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले कडा आपत्ति जनाएको छ।
मंगलबार जारी विज्ञप्तिमार्फत महासंघले कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने जो–कोहीलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास अभाव र अनुचित मूल्य असुलिएको खबर सार्वजनिक भएपछि यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो अवस्थाले उपभोक्ताहरू प्रत्यक्ष रूपमा मर्कामा परेको महासंघले जनाएको छ।
विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो अशान्ति र अन्तर्राष्ट्रिय परिस्थितिका कारण भविष्यमा ग्यास आपूर्तिमा समस्या आउन सक्ने आशंका उपभोक्तामा देखिएको उल्लेख गरिएको छ। तर, यस्तो संवेदनशील परिस्थितिको दुरुपयोग गर्दै बढी मूल्यमा ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको महासंघले स्पष्ट पारेको छ।
महासंघले देशभरिका ग्यास विक्रेतालाई गैरकानुनी गतिविधिमा संलग्न नहुन र जिम्मेवार भएर सेवा प्रवाह गर्न आग्रह गरेको छ। साथै, संकटको समयलाई अवसर बनाएर उपभोक्ता ठग्ने उद्योगी वा विक्रेतालाई पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।
त्यस्तै, यस्ता गैरकानुनी गतिविधि गर्ने जो–कोहीलाई कानुनी कारबाही हुने जानकारी सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई गराउन पनि महासंघले निर्देशन दिएको जनाएको छ।
उपभोक्ताको दैनिकीसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुमा कालोबजारी गर्ने प्रवृत्ति रोक्न राज्यले तत्काल प्रभावकारी अनुगमन र कडा कारबाही गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ।
श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!