पश्चिम एसियामा नेपालीको सुरक्षा निगरानीमा सरकार, NRNA सँग भर्चुअल बैठक

पश्चिम एसियामा नेपालीको सुरक्षा निगरानीमा सरकार, NRNA सँग भर्चुअल बैठक

काठमाडौं।पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहल जारी राखेको जनाएको छ।

मन्त्रालयले मंगलबार पश्चिम एसियामा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूतावासहरू, गैरआवासीय नेपाली संघ (NRNA) र नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग भर्चुअल बैठक आयोजना गरेको छ। बैठकमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, सम्भावित उद्धार तथा सहायताका विषयमा समन्वय र सहकार्यबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ।
बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाली नागरिकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हालसम्म भएको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सक्रियताका साथ संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्रालयका अनुसार पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूतावासहरू हाल नियमित रूपमा खुला छन्। राहदानी लगायत अत्यावश्यक सेवाका लागि सेवाग्राहीहरूले सम्बन्धित नियोगले उपलब्ध गराएका फोन नम्बर वा इमेलमार्फत समय मिलाएर सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी सम्बन्धित देशका निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक सूचना नियमित रूपमा अद्यावधिक गरिरहेको मन्त्रालयले जनाएको छ। स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सुरक्षा सूचना तथा सावधानीका उपायबारे जानकारीमा रहन नेपाली नागरिकलाई आग्रह गरिएको छ। साथै कानूनविपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड वा आदान–प्रदान नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा मंगलबार साँझसम्म ५७ हजार १०० नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराइसकेका छन्। प्राप्त विवरणहरूको अध्ययन गर्दै आवश्यकताअनुसार थप कदम चालिने मन्त्रालयले जनाएको छ।

यसैबीच पश्चिम एसियाका केही स्थानबाट सीमित रूपमा हवाई उडान सञ्चालन भइरहेका छन्। नेपाल फर्किन चाहने नेपाली नागरिकहरूले हाल सञ्चालनमा रहेका उडान प्रयोग गर्न सक्ने मन्त्रालयले जनाएको छ। अत्यावश्यक अवस्थामा साउदी अरब हुँदै नेपाल फर्किन चाहनेहरूले राहदानी र भिसाको प्रतिलिपि तथा यात्रा योजनासहितको विवरण आफू रहेको देशस्थित नेपाली नियोगमा पठाएर भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ।

कुनै समस्या आएमा परराष्ट्र मन्त्रालयको इमर्जेन्सी कन्ट्रोल रुम वा सम्बन्धित देशस्थित नेपाली नियोगका सम्पर्क माध्यममा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
3 घण्टा अगाडि

श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

छुटाउनुभयो कि ?

TOP