‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा’ — गृहमन्त्री ओमप्रकाश अर्याल

‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा’ — गृहमन्त्री ओमप्रकाश अर्याल

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाललाई भ्रष्टाचारभन्दा पनि अराजकताबाट ठूलो खतरा रहेको बताएका छन्। एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा उनले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सुशासन, स्थिरता र प्रणाली सुदृढीकरणमा जोड दिएका हुन्।

उनले सरकारको मूल कार्यादेश नै निर्वाचन सम्पन्न गराई संवैधानिक प्रणालीलाई पुनःस्थापित गर्नु रहेको उल्लेख गर्दै असामान्य परिस्थितिबाट मुलुकलाई सामान्य अवस्थामा फर्काउने प्रयास सफलताउन्मुख रहेको दाबी गरे। भदौ २३ र २४ को आन्दोलनपछिको अवस्थालाई स्मरण गर्दै उनले त्यतिबेला मानवअधिकार उल्लंघन, सुरक्षा चुनौती र संवैधानिक रिक्तताको अवस्था सिर्जना भएको बताए।

निर्वाचन सुरक्षाबारे बोल्दै मन्त्री अर्यालले यसपटक सुरक्षा व्यवस्था अघिल्ला निर्वाचनभन्दा थप सुदृढ बनाइएको जानकारी दिए। उनका अनुसार केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्म एकीकृत सुरक्षा संयन्त्र सक्रिय गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई समन्वयात्मक ढंगले परिचालन गरिएको र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी पूर्वतयारी गरिएको उनले बताए।

मतपेटिका ओसारपसारको विषयमा उठेका प्रश्नबारे स्पष्ट पार्दै उनले नेपाली सेनाले मतपत्र छपाइ स्थलबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मात्रै सुरक्षा दिने र मतदानपछि मतपेटिका सम्बन्धित अधिकृतकै जिम्मामा रहने बताए। मतगणना प्रक्रियामा सेना संलग्न नहुने उनको भनाइ छ।

सरकारमाथि सुरुवाती चरणमा आएको आलोचनाबारे टिप्पणी गर्दै उनले आवेगभन्दा विवेकको राजनीतिलाई प्राथमिकता दिएको बताए। “प्रणालीलाई सुदृढ बनाउँदै अघि बढ्नु नै दिगो समाधान हो,” उनले भने।

आगामी सरकारलाई सुझाव दिँदै मन्त्री अर्यालले भ्रष्टाचार नियन्त्रणसँगै अराजकता नियन्त्रणलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार संस्थाहरूलाई हैकमको शैलीमा नभई सामूहिक नेतृत्व र सहकार्यबाट अघि बढाउनुपर्छ। “मुलुकलाई जति भ्रष्टाचारबाट खतरा छ, त्योभन्दा धेरै खतरा अराजकताबाट छ,” उनले दोहोर्‍याए।
मतदातालाई सन्देश दिँदै उनले आवेग र लहडभन्दा विवेक
 प्रयोग गरेर मतदान गर्न आग्रह गरे। पाँच वर्ष टिक्ने सरकार र राजनीतिक संस्कार स्थापित गर्न सक्ने पात्र रोज्नुपर्ने उनको भनाइ थियो। “राजनीतिक संस्कार नभएका व्यक्ति संसद् वा सरकारमा पुगे मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुन सक्छ,” उनले भने।

निर्वाचन सम्पन्न भएपछि आफू पुनः कानुन व्यवसायमा फर्कने संकेत दिँदै मन्त्री अर्यालले तोकिएको जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता रहेको बताए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
2 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP