पशुपति,देवपत्तन।नेपाल सम्बत ११४६, चिलाथ्यो चतुर्दशी अर्थात् फागु पूर्णिमाको पावन अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा नेवारी संस्कृति र परम्पराले भरिएको भव्य दृश्य देखिएको छ। दथु त्वा: बाजं खल:, ज्यापू पुच: पशुपति र पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरूको संयुक्त पहलमा परम्परागत शैलीमा होली मनाइएको हो।
आधुनिक रंग, पिचकारी र अव्यवस्थित उत्सवभन्दा फरक, बाजागाजा, धार्मिक आस्था र सामुदायिक एकताको भावसहित मनाइएको यस होलीले पशुपति क्षेत्रलाई सांस्कृतिक रंगले ढाकेको थियो। स्थानीय छिमेकी र टोलबासीहरू एकजुट भई धिमे, बाँसुरीजस्ता परम्परागत बाजागाजासहित सांस्कृतिक परिक्रमा गर्दै निस्किएका थिए। यो परिक्रमा केवल मनोरञ्जनका लागि नभई धार्मिक अनुष्ठानकै रूपमा सम्पन्न गरिएको आयोजकहरूले जनाएका छन्।
सांस्कृतिक यात्रा पाँच गणेशबाट सुरु भई पशुपति मन्दिर, बासुकी, उन्मत्त भैरव, नवग्रह, वत्सलेश्वरी (बसला माई), आकाश भैरव, मंगला देवी, गंगा माई, इता पाखा, जयबागेश्वरी, ताम्रेश्वर महादेव र मछिन्द्र गणेश हुँदै पुनः पाँच गणेशमा पुगेर विसर्जन गरिएको थियो। मार्गभरिका देवस्थलहरूमा पूजा, बाजाको ताल र सामूहिक उपस्थितिले धार्मिक वातावरणलाई थप गहिरो बनाएको थियो।
यस कार्यक्रममा बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहको उल्लेखनीय सहभागिता देखियो। सहभागीहरूले एक–अर्कालाई अबिर र रङ लगाउँदै शुभकामना साटासाट गरे। नेवारी संस्कृतिमा होलीलाई रङको मात्र पर्व नभई आपसी सद्भाव, भाईचारा र सामाजिक एकताको प्रतीकका रूपमा लिने गरिन्छ, जसको स्पष्ट झल्को आजको कार्यक्रममा देखियो।
यस अवसरमा नेपालभाषामा गाइने परम्परागत होली गीतले उत्सवलाई अझ जीवन्त बनायो—
“अबीरं होली तःचाया ल्यासे, अबीरं छंगु ख्वाः हिसि दयेकाबी...”
युवावस्थाको चञ्चलता, रङको सौन्दर्य र आत्मीयता झल्काउने यी गीत गाउँदै टोल–टोलमा रमाइलो गर्ने परम्परा आज पनि जीवित रहेको सहभागीहरूले बताएका छन्।
यसरी पशुपति क्षेत्रमा मनाइएको फागु पूर्णिमाले नेवारी संस्कृतिको गहिरो जरा, धार्मिक आस्था र सामुदायिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
काठमाडौँ । कुनै ठूलै बिघ्नबाधा उत्पन्न नभए नेपाली मतदातताले प्रतिनिधिसभा सदस्यको चुनाव गर्न आजको चौथ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!