यूएईमा रहेका नेपाली सुरक्षित, अफवाह नफैलाउन दूतावासको आग्रह

यूएईमा रहेका नेपाली सुरक्षित, अफवाह नफैलाउन दूतावासको आग्रह

काठमाडौ ।संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको त्यहाँका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने सन्देशहरू तीव्र गतिमा फैलिरहेका बेला उनले अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।

“हालसम्म कुनै अप्रिय घटना भएको खबर छैन। यहाँ रहेका सबै नेपाली सुरक्षित हुनुहुन्छ,” राजदूत क्षेत्रीले रेड मिडियासग भने। यूएईमा करिब सात लाख नेपाली श्रमिक कार्यरत छन्।

शनिबार बिहान संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्वको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। त्यसको प्रत्युत्तरमा इरानले यूएई, कुवेत, कतार, साउदी अरेबिया, इराक, बहराइन र जोर्डनलगायत देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रत्याक्रमण गरेको जनाइएको छ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार इरानले प्रहार गरेका मिसाइलहरू यूएईको रक्षा प्रणालीले निस्तेज पारेको छ। निस्तेज पार्ने क्रममा खसेका मिसाइलका अवशेष (डेब्रेज)का कारण केही व्यक्ति घाइते भएका छन्। शनिबार एक पाकिस्तानी नागरिकको मृत्यु भएको र आइतबार अबुधाबीमा थप एक जनाको मृत्यु भएको जनाइएको छ। दुबईमा चार–पाँच जना घाइते भएको खबर छ।

दुबईस्थित नेपाली महावाणिज्यदूताबासले नेपाली समुदायलाई नआत्तिन आग्रह गर्दै भने, “अहिलेसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ। डराउनुपर्ने अवस्था छैन।”
यसैबीच, अबुधाबीस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा सुरक्षा अवस्थाबारे भ्रम फैलिने किसिमका तस्बिर वा भिडियो पोस्ट नगर्न आग्रह गरेको छ।

 दूतावासले जारी गरेको एड्भाइजरीमा यस्ता गतिविधि यूएईको कानुनअनुसार दण्डनीय हुने चेतावनी यूएईका आधिकारिक निकायबाट आइसकेको उल्लेख छ।

दूतावासले अज्ञान स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री कुनै पनि माध्यमबाट प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ। साथै, शनिबार जारी गरिएको ट्राभल एड्भाइजरीमा अनावश्यक यात्रा नगर्न, सावधानी अपनाउन र यूएई सरकारले जारी गरेका सुरक्षा मार्गदर्शनको पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
4 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP