रास्वपामा चरम निरासा र अलोकतान्त्रिक अभ्यासको विस्फोट, संस्थापक उर्मिला भुर्तेल कांग्रेस प्रवेश

रास्वपामा चरम निरासा र अलोकतान्त्रिक अभ्यासको विस्फोट, संस्थापक उर्मिला भुर्तेल कांग्रेस प्रवेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक नेतृ, २०७९ सालकी प्रत्यक्ष उम्मेदवार तथा प्रदेश खेलकुद विभाग प्रमुख उर्मिला भुर्तेलले पार्टीभित्र चरम विकृति, विसंगति र अलोकतान्त्रिक अभ्यास रहेको आरोप लगाउँदै पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगन थापाको उपस्थितिमा उनले औपचारिक रूपमा कांग्रेस प्रवेश गरेकी हुन्।

रेड मिडियासँगको कुराकानीमा भुर्तेलले रास्वपा बाहिर देखिएजस्तो स्वच्छ र आशावादी नभई भित्र गहिरो निरासा, अविश्वास र स्वार्थी राजनीति हावी रहेको दाबी गरिन्। उनका अनुसार पार्टी नेतृत्वको बोलाइ र गराइबीच गम्भीर अन्तर छ र नेतृत्वलाई हानी पुग्ने अवस्था आएमा पार्टीका अन्य सदस्यहरूमाथि जुनसुकै हदसम्म गिरेर आफू जोगिने प्रवृत्ति संस्थागत बनेको छ। उनले रास्वपालाई अलोकतान्त्रिक व्यक्ति र अलोकतान्त्रिक पार्टीको संज्ञा दिँदै यस्तो पार्टीबाट देश र जनताले कुनै निकास नपाउने ठोकुवा गरिन्।

भुर्तेलले पार्टीभित्र आकांक्षी उम्मेदवारबाट पैसा उठाउने अभ्यास रहेको, संगठनभित्र चरम निरासा फैलिएको र महिला ह्यारेसमेन्टसमेत हुने गरेको गम्भीर आरोप लगाइन्। उनले ‘घण्टी’ चुनाव चिह्न बाहिर आकर्षक देखिए पनि पार्टीभित्र वास्तविकता बिल्कुलै फरक रहेको बताउँदै पार्टी स्थापना भएदेखि यहाँसम्म ल्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरिन्। तर जनताप्रतिको गद्दारी र गलत कर्तुतको पाप बोक्न नसकेर पार्टी छोड्ने निर्णयमा पुगेको उनको भनाइ छ।

उनले रवि लामिछाने र बालेन शाहमाथि आफ्ना काण्ड र कर्तुत लुकाउन जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको आरोप लगाइन्। उनका अनुसार उनीहरूको गतिविधि जनताको लाभ र हितमा नभई व्यक्तिगत फाइदामुखी छ। रवी पैसा केन्द्रित राजनीतिमा लागेको र रवी तथा बालेन दुवै राज्यको कानुनलाई काउन्टर दिएर हिँड्ने व्यक्ति भएको उनले आरोप लगाइन्। उनीहरूले गरेका कुकर्मको भारी बोक्न नसकिने भएकै कारण आफू पार्टीबाट बाहिरिएको उनको दाबी छ।

रास्वपाले अघि सारेको ‘अबकी बार बालेन सरकार’ भन्ने नाराप्रति टिप्पणी गर्दै भुर्तेलले यसलाई देशका लागि खतरनाक संकेतको रूपमा व्याख्या गरिन्। देश जियो–पोलिटिक्स र भूराजनीतिक रूपमा अत्यन्त संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै उनले सुशासन, भ्रष्टाचार अन्त्य र राजनीतिक निकासको अपेक्षा गरिएको भए पनि रास्वपा नेतृत्वका गतिविधिले देशलाई झन् जोखिमतर्फ धकेलिरहेको बताइन्।

भुर्तेलले भदौ २३ र २४ गते भएको भनिएको ‘जेनजी आन्दोलन’लाई उदाहरण दिँदै बालेनमाथि गम्भीर आरोप लगाइन्। उनका अनुसार स्कुल र कलेजको ड्रेसमै आन्दोलनमा आउन आह्वान गर्दै ‘कुनै राजनीतिक दलले हस्तक्षेप नगरोस्’ भनिएको थियो र ‘हामी नेपाली’ टिम तथा टीओबीलाई योजनाबद्ध रूपमा उतारिएको थियो। सो क्रममा ७४ जनाको ज्यान गएको दाबी गर्दै उनले यसलाई योजनाबद्ध हत्या भनेकी छन्। घटनापछि रवी आफू जेलबाट भागेको र उनीहरूको आपसी एकता आफ्ना कर्तुत लुकाउनकै लागि बनेको आरोप पनि उनले लगाइन्।

उनका अनुसार रवी र बालेन जतिसक्दो चाँडो चुनावमा गएर सत्तामा पुग्न चाहन्छन् र यदि त्यस्तो अवस्था आयो भने देश गहिरो खाडलतर्फ जाने खतरा छ। यही कारणले लोकतान्त्रिक अभ्यास, खुला बहस र जनताप्रतिको उत्तरदायित्व रहेको ठानेर आफू नेपाली कांग्रेसमा आएको भुर्तेलको भनाइ छ।

रास्वपाकी संस्थापक नेतृबाट सार्वजनिक रूपमा आएका यी आरोपहरूले पार्टीभित्रको वास्तविक अवस्था, नेतृत्वको चरित्र र भविष्यको राजनीतिक दिशामाथि गम्भीर प्रश्न खडा गर्दै नेपाली राजनीतिक वृत्तमा ठूलो तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍यो !
41 मिनेट अगाडि

बेइजिङ|चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दीअन्तर्राष्ट्रिय अनिश्चितता र भू-राजनीतिक जोखिमबीच सन् २ ...

छुटाउनुभयो कि ?

TOP