काठमाडौ ,माघ ३-टोखा नगरपालिकाले स्थानीय पर्यटन र बालमैत्री पूर्वाधार विकासतर्फ ऐतिहासिक फड्को मारेको छ। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शुक्रबार वडा नम्बर १ मा निर्माण सम्पन्न भएको बौडेश्वर बालमैत्री पार्कको भव्य उद्घाटन गर्दै टोखालाई काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
बौडेश्वर झर्ना नजिकै करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको पार्क उद्घाटनसँगै स्थानीय संरक्षण समितिलाई चाबी हस्तान्तरण गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर अधिकारीले भने,“यो पार्क केवल संरचना होइन, टोखाको पहिचान हो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैका लागि सुरक्षित, रमाइलो र प्रकृतिसँग जोडिने साझा थलो बनाउने हाम्रो सपना आज साकार भएको छ।”
मेयर अधिकारीले पार्क निर्माणमा काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाबीचको सहकार्यलाई उदाहरणीय बताउँदै ३ करोड १२ लाख रुपैयाँ लागतमा सम्पन्न परियोजनाले नगरको दीर्घकालीन विकासमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे।
“टोखा अब विकासमा पछि छैन। पर्यटन, वातावरण र बालमैत्री पूर्वाधारलाई सँगसँगै अघि बढाउँदै समृद्ध नगर बनाउने यात्रामा हामी दृढ छौँ,” उनले जोड दिए।
झर्ना, पिङ, आरामस्थल, खुला मनोरञ्जन क्षेत्रसहितको यो पार्क बालबालिकाका लागि खेल्ने थलो मात्र नभई परिवारसँग समय बिताउने उत्कृष्ट गन्तव्य बनेको छ। उद्घाटन कार्यक्रममा मेयर अधिकारीले पार्कको संरक्षण र दिगो सञ्चालनमा स्थानीयवासीको भूमिकालाई निर्णायक बताउँदै भने,“संरचना बनाउनु सरकारको दायित्व हो, तर यसको संरक्षण र सुन्दरता जोगाउनु नागरिकको जिम्मेवारी हो।”
उद्घाटन समारोहमा उपमेयर, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले पनि मन्तव्य दिँदै पार्कले स्थानीय पर्यटन र आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे। सञ्चारकर्मी, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थितिले कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो। नगरपालिकाका कर्मचारी मधु आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।
पार्कसम्म पुग्ने बाटो कालोपत्रे गरिएकोले अब सहजै यात्रा गर्न सकिने अवस्था बनेको छ। यसले आन्तरिक मात्र होइन, बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीहरू पार्क सञ्चालनसँगै व्यवसाय, रोजगारी र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वासमा छन्।
समापनमा मेयर अधिकारीले सम्पूर्ण टोखाबासीलाई बधाई तथा शुभकामना दिँदै स्पष्ट सन्देश दिए—“विकास भाषणमा होइन, परिणाममा देखिनुपर्छ। बौडेश्वर बालमैत्री पार्क त्यसकै प्रमाण हो।”
बौडेश्वर बालमैत्री पार्क सञ्चालनमा आएसँगै टोखाले अब नयाँ परिचय पाउने संकेत देखिएको छ—प्रकृति, पर्यटन र बालमैत्री विकासको संगमका रूपमा।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया