काठमाडौँ,माघ २ – फोर्स मोटरका नाममा बिक्री गरिएका गाडीहरूले नेपाली यातायात व्यवसायीको जीवन नै ठप्प बनाइदिएको गम्भीर आरोप सार्वजनिक भएको छ। दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिका अध्यक्ष हरि बहादुर राई र महासचिव देवान राईले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयम इन्टरकन्टिनेन्टल प्रालिद्वारा बिक्री गरिएका गाडीका कारण आफूहरू आर्थिक, मानसिक र सामाजिक रूपमा पूर्ण रूपमा ध्वस्त भएको बताएका छन्।
आयम इन्टरकन्टिनेन्टलले ‘फोर ह्विल गामा’, ‘क्रुजर जिप’ र ‘टु ह्विल जिप’ मोडलका गाडीहरूमा मर्सिडिज बेन्जको इन्जिन, गियरबक्स र क्राउन जडान गरिएको र तीन लाख किलोमिटरसम्म वारेन्टी रहने दाबी गर्दै गाडी बिक्री गरेको थियो। यही आकर्षक र झुटा प्रलोभनमा परेर व्यवसायीहरूले बैंकबाट ठूलो ऋण उठाएर गाडी खरिद गरेका थिए। तर वास्तविकता खरिदको केही समयमै बाहिर आयो। एक महिनामै इन्जिन सिज हुने, एकै वर्षमा दुई पटकसम्म इन्जिन बिग्रिने, गुडिरहेको अवस्थामा टायर फुत्किने, सेन्टर र रड बार पटक–पटक फुस्किने जस्ता गम्भीर समस्या देखिएको पीडितहरूको आरोप छ।
व्यवसायीहरूका अनुसार यी गाडीहरू कमजोर पार्टपुर्जा र गुणस्तरहीन संरचनाका कारण सडकमा चलाउनै जोखिमपूर्ण छन्। “यस्ता गाडी चलाउनु भनेको यात्रुको ज्यानसँग प्रत्यक्ष खेलबाड गर्नु हो,” पीडितहरूको भनाइ छ। समस्या लिएर कम्पनीकहाँ पटक–पटक जाँदा सुरुमा आश्वासन दिने, पछि दोहोरो कुरा गर्ने र अन्ततः कुनै समाधान नदिने व्यवहार देखिएको उनीहरूको आरोप छ। पत्रकार सम्मेलन, हारगुहार र सम्बन्धित निकाय धाउँदा पनि कम्पनीले कहिल्यै समस्या सुन्ने इच्छाशक्ति नदेखाएको गुनासो छ।
छ वर्षअघि खरिद गरिएका धेरै गाडी आज ग्यारेजमै थन्किएका छन्। गाडी चल्न नसक्दा आम्दानी शून्य भएको छ, तर बैंकको सावाँ र ब्याज भने निरन्तर बढिरहेको छ। किस्ता तिर्न नसक्दा व्यवसायीहरूले घरजग्गा बेच्नुपरेको छ भने कतिपय सबै सम्पत्ति सकिएर सडकमा पुगिसकेको अवस्था छ। यसले पारिवारिक जीवन बिग्रिएको, घरव्यवहार तहसनहस भएको र गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्या देखिएको पीडितहरूले बताएका छन्।
पीडित व्यवसायीहरूले वारेन्टी र सम्झौता उल्लङ्घन भएको भन्दै मुद्दा अदालतमा पुर्याएका छन्। तर न्याय खोजिरहेका उनीहरूलाई उल्टै विक्रेता कम्पनीले व्यवसायीले धाकधम्की दिएको आरोपमा मुद्दा हालेर थप पीडा दिएको आरोप छ। झुटा दाबी गरेर गाडी बेच्ने र पछि पीडितमाथि नै कानुनी दबाब सिर्जना गर्ने प्रवृत्तिले आक्रोश चुलिएको छ।
व्यवसायीहरूले यस्ता ज्यानमारा गाडी खुलेआम बिक्री भइरहँदा आम यात्रुको जीवन गम्भीर जोखिममा परेको भन्दै सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन्। दोषी कम्पनीलाई कानुनी कठघरामा उभ्याएर छिटो न्याय दिन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र भविष्यमा यस्ता ठगी दोहोरिन नदिन कडा कारबाही आवश्यक रहेको उनीहरूको जोड छ। ढिलाइ भयो भने इन्जिन मात्र होइन, अझ धेरै जीवन सिज हुने चेतावनी पीडितहरूले दिएका छन्।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया