देउवा पक्षको कदम: गगन–विश्वसहित नेताहरू ५ वर्षका लागि कांग्रेसबाट निष्काशित

काठमाडौं, पुस ३० — नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद गम्भीर मोडमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूमाथि कडा कारबाही गरेको हो। बैठकले विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किनसमेत निर्देशन दिएको छ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै त्यसको आह्वान गरेका थिए। तर उनीहरू स्वयं सहभागी भएको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरिसकेको थियो। सो निर्णयमा उनीहरूले फरक मत राख्दै विशेष महाधिवेशनको बाटो रोजेका थिए।

थापा र शर्माले बन्द सत्रको हलबाट गरिएको निर्णय नै अन्तिम हुने दाबी गर्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए। सोही क्रममा सभापति पदका लागि गगन थापाको नाम दर्ता भइसकेको निर्वाचन समितिले जनाएको छ भने अन्य पदाधिकारीहरूमा पनि मनोनयन प्रक्रिया अघि बढाइएको बताइएको छ।

पार्टी विभाजनको जोखिम बढ्दै गएपछि पछिल्ला दिनहरूमा नेताहरूबीच निरन्तर छलफल भए पनि सहमति जुट्न सकेन। मंगलबार मात्रै तीन चरणमा छलफल भएको थियो भने बुधबार बिहान महामन्त्रीद्वयले सभापति देउवासँग प्रत्यक्ष भेटवार्ता गरेका थिए। तर ती छलफलहरूले पनि निकास दिन नसकेपछि विवाद झन् चर्किएको हो।

कांग्रेसभित्रको यो निर्णयले पार्टी एकतामाथि गम्भीर प्रश्न खडा गरेको छ भने आगामी दिनमा हुने राजनीतिक असरलाई लिएर चासो बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP