केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न

काठमाडौँ पुस २२- सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भुमा आज केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भयो। बैठकमा माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

अर्थमन्त्री खनालले मुलुकभित्रका आर्थिक गतिविधिलाई आवश्यक संरक्षण र सुरक्षा प्रदान गर्दै अर्थतन्त्र सुधार गर्नुपर्ने तथा राजश्व चुहावट नियन्त्रण गर्न अन्तर–निकायबीच देखिएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताए। कुनै एकल निकायको प्रयासले मात्र राजश्व चुहावट नियन्त्रण सम्भव नहुने भन्दै सम्बन्धित सबै सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक रहेको पनि उनले बताए। साथै, राजश्व चुहावट नियन्त्रणका क्रममा आम नागरिकलाई दुःख नपुग्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।

बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले राजश्व चुहावट नियन्त्रण सबैको साझा दायित्व भएको बताए। सीमित साधनस्रोतका बाबजुद अधिकतम परिचालन गरी परिणाममुखी कार्य गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
राजश्व सचिव भुपाल बरालले खुला सीमाका कारण शान्ति सुरक्षा र राजश्व संकलन दुवै क्षेत्रमा चुनौती रहेको बताए। सीमित स्रोतसाधनका बीच पनि सुरक्षा निकायले राजश्व चुहावट नियन्त्रणमा उल्लेखनीय काम गर्दै आएको र सो कार्यलाई थप व्यावसायिक तथा समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने बताए।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सीमा क्षेत्रमा रहेका गोदामहरू सीमाबाट निश्चित दूरीमा राख्नुपर्ने, बजार अनुगमन तीव्र बनाउनुपर्ने र सीमा नाकाबाट बरामद अवैध सामानको लिलाम प्रक्रिया सहज बनाउनुपर्ने बताए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राजश्व चुहावट नियन्त्रणमा खटिने निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले सीमा नाकाबाट आवत–जावत गर्ने व्यक्तिको अभिलेख राख्नुपर्ने र एक–अर्कालाई दोषारोपण गरेर मात्र समस्या समाधान नहुने स्पष्ट पारे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले चालु आर्थिक वर्षको करिब ६ महिनाको अवधिमा १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान तथा भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी दिए।

बैठकमा राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालय र गृह मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। प्रदेशस्थित बाहिनी मुख्यालयका बाहिनीपतिहरूले सीमा क्षेत्रमा देखिएका व्यवहारिक कठिनाइ तथा अवैध चोरीपैठारीलगायत आपराधिक गतिविधिबारे जानकारी दिए भने सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा तथा राजश्वसम्बन्धी प्रस्तुतीकरण दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP