शान्ति सुरक्षामा उदाहरणीय सहकार्य : गोकर्णेश्वर नगरपालिका सम्मानित

काठमाडौं,पुस १३-शान्ति सुरक्षा, प्रहरी कार्यालयको पुनर्निर्माण तथा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गोकर्णेश्वर नगरपालिकालाई काठमाडौं जिल्ला प्रहरी परिसरले सम्मान गरेको छ। आज बसन्तपुरमा आयोजित बृहत् कार्यक्रममा नगरपालिकाको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो।

कार्यक्रमपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगर–प्रहरी सहकार्यले स्थानीय तहमा शान्ति सुरक्षा मजबुत बनेको भन्दै खुसी व्यक्त गरे। उनले विपद् र असहज परिस्थितिमा नगरपालिकाले प्रहरीसँग हातेमालो गर्दै भौतिक संरचना, सवारी साधन र आवश्यक उपकरणमा सहयोग गर्दै आएको बताए।

मेयर रिसालका अनुसार जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका गोकर्णेश्वर नगरपालिकाभित्रका ७ वटा प्रहरी चौकी स्थानीय समुदाय र नगरपालिकाको सहकार्यमा १५ दिनभित्रै पुनर्निर्माण गरिएको थियो। साथै, प्रहरी चौकीका सवारी साधन जलेपछि नगरपालिकाले प्रत्येक प्रहरी चौकीलाई ७–७ वटा मोटरसाइकल उपलब्ध गराएको जानकारी दिए।

त्यसैगरी, विभिन्न समयमा प्रहरी चौकीहरूलाई कम्प्युटरलगायत आवश्यक सामग्री उपलब्ध गराइएको र महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धको भवन जलेपछि जोरपाटी नारायणटारस्थित १ रोपनी क्षेत्रफलमा बनेको बंगला ट्राफिक प्रहरीको व्यवस्थापनका लागि उपलब्ध गराइएको मेयर रिसालले बताए। नगरपालिकाले ट्राफिक प्रहरीलाई एक थान मोटरसाइकल पनि प्रदान गरेको छ।

सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले ट्राफिक प्रहरीका लागि सडक डिभाइडर, मापसे चेकिङ मेसिन, ह्वील लक, लाइटलगायत करिब १० लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएको छ। साथै, सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाका चार स्थानमा करिब ५० लाख रुपैयाँ बराबरका ट्राफिक लाइट जडान गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको थियो, जसको उद्घाटन  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका थिए।

मेयर रिसालले महानगरीय प्रहरी वृत्त बौद्धको पुनर्निर्माणका लागि गोकर्णेश्वर नगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिँदै आगामी दिनमा पनि शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र नागरिक सुरक्षाका विषयमा प्रहरीसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP