पुस १३–१४ मा बुझाउनुपर्ने बन्दसूचीमा देउवाले मागे थप ५ दिन

काठमाडौँ पुस १३ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने म्याद पाँच दिन थपिदिन आग्रह गरेका छन्। निर्वाचन आयोगले पुस १३ र १४ गतेका लागि तोकेको बन्दसूची बुझाउने कार्यतालिका पार्टीको आन्तरिक तयारीका कारण पूरा गर्न कठिन भएको भन्दै देउवाले प्रधानमन्त्री सुशीला कार्कीसँग समय थपको अनुरोध गरेका हुन्।

निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको शीर्ष नेताहरूको बैठकका क्रममा सभापति देउवाले कांग्रेसको महाधिवेशन तयारी जारी रहेकाले समानुपातिक बन्दसूची समयमै टुंग्याउन नसकिएको बताएका थिए। बैठकमा सहभागी स्रोतका अनुसार देउवाले पार्टीभित्र उम्मेदवार छनोट र सूची मिलाउने प्रक्रिया बाँकी रहेकाले पाँच दिनको अतिरिक्त समय आवश्यक भएको धारणा राखेका थिए।

प्रधानमन्त्री कार्कीले उक्त बैठकमा यस विषयमा निर्वाचन आयोगसँग यसअघि नै छलफल भइसकेको जानकारी गराउँदै आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूले कार्यतालिका परिवर्तन गर्दा समग्र निर्वाचन प्रक्रियामा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको बताएकी थिइन्। यद्यपि, प्रधानमन्त्रीले कांग्रेसको आग्रहलाई औपचारिक रूपमा पुनः आयोगसमक्ष राख्ने प्रयास गर्ने संकेत दिएको स्रोतले जनाएको छ।

बैठकमा सहभागी नेकपा संयोजक प्रचण्डले आफ्नो पार्टीतर्फ समानुपातिक बन्दसूचीमा कुनै समस्या नरहेको उल्लेख गर्दै, अन्य दललाई सहज हुने भए पाँच दिनको समय थपिदिन सकिने राय राखेका थिए। उनले सबै दललाई समान अवसर र सहजता मिल्ने गरी निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

निर्वाचन आयोगले यसअघि नै समानुपातिक बन्दसूची बुझाउने म्याद पुस १३ र १४ गतेका लागि तोकेको छ। आयोगको कार्यतालिकाअनुसार सोही अवधिभित्र सबै राजनीतिक दलले आफ्नो बन्दसूची बुझाइसक्नुपर्ने व्यवस्था छ। कांग्रेसको समय थपसम्बन्धी आग्रहमा आयोगले के निर्णय लिन्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP