नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति लिएको आरोपमा पूर्व ट्राफिक प्रहरी अधिकारीविरुद्ध मुद्दा

काठमाडौं, पुस ११ — नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रयोग गरी प्रहरी सेवामा प्रवेश तथा पदोन्नति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पूर्व ट्राफिक प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भई कलंकीमा कार्यरत प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुने प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी व्यक्तिगत लाभ लिएको उजुरी परेको थियो।

उजुरीका आधारमा गरिएको अनुसन्धानबाट भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (CBSE), दिल्ली, भारतबाट जारी भएको देखिने Senior School Certificate Examination–1991 का नाममा जारी गरिएको Marks Statement र Provisional Certificate लगायतका शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा तथा नक्कली भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

नक्कली प्रमाणपत्रकै आधारमा उनले मिति २०५० साल १२ महिना २० गते प्रहरी जवान पदमा नियुक्ति लिई क्रमशः प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई नेपाल सरकारबाट निवृत्तिभरण, हैसियत, लाभ तथा सुविधा लिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

अख्तियारका अनुसार भट्टको उक्त कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम भ्रष्टाचारजन्य कसूर ठहरिएको छ। 

सोही आधारमा साबिक ऐनको दफा १२ र दफा २९ को उपदफा (२) तथा हालको ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक सेवामा नक्कली कागजात प्रयोग गरी नियुक्ति वा पदोन्नति लिने कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता कार्यविरुद्ध कडाइका साथ कारबाही अघि बढाइने स्पष्ट गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP