ओलीको सर्त: आयोग घरमै आए मात्रै बयान

काठमाडौँ, पुस ९ — जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि अझै कायम देखिएको छ। आयोग गठनदेखि नै यसको औचित्य र कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका ओलीले आयोगको कार्यालयमा गएर बयान नदिने स्पष्ट संकेत दिएका छन्। उनले आयोग घरमै आए मात्र बयान दिने सर्त अघि सारेका छन्।

मंगलबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा आयोजित शीर्ष नेताहरूको छलफलमा ओलीले उक्त विषय उठाएका हुन्। बैठकमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। बैठकको मुख्य उद्देश्य आगामी निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनु थियो।

छलफलका क्रममा ओलीले आफूलाई जाँचबुझ आयोगले बयान लिन खोजेको प्रसंग उठाउँदै आयोगको वैधतामाथि पुनः प्रश्न गरे। राष्ट्रपति कार्यालयसम्बद्ध स्रोतका अनुसार ओलीले भने,
‘यो आयोगको काम होइन। किन यस्तो आयोग बनाइयो? मसँग कुरा गर्नुछ भने आयोगका मान्छे घरमै पठाइदिनुस्। म जे भन्नु छ, त्यहीँ भन्छु।’

ओलीले आयोगको कार्यालय सिंहदरबारमा उपस्थित भएर बयान नदिने तर घरमै आए स्वीकार गर्न सकिने अडान यसअघि पनि सार्वजनिक रूपमा व्यक्त गर्दै आएका थिए। शीतलनिवास बैठकमा शीर्ष नेताहरूको सामुन्ने उनले यही अडान दोहोर्‍याएका हुन्।

केही दिनअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले आयोगप्रति आक्रामक टिप्पणी गर्दै बयानको विषयलाई लिएर तीव्र अभिव्यक्ति दिएका थिए। सुरुमा कठोर अभिव्यक्ति दिए पनि पछि उनले आयोग घरमै आए बयान दिन सकिने संकेत गरेका थिए।

शीतलनिवास बैठकमा जेनजी आयोगको विषयसँगै संसद् पुनर्स्थापना र निर्वाचनको विषयमा समेत मतभेद देखिएको छ। एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले संसद् पुनर्स्थापनाको पक्ष लिँदा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र नेकपा संयोजक प्रचण्ड निर्वाचनतर्फ जानुपर्ने धारमा देखिएका थिए।

प्रधानमन्त्री कार्कीले ठूला दलका शीर्ष नेतासँग पर्याप्त संवाद नगरेको भन्दै कांग्रेस, एमाले र नेकपाले यसअघि नै असन्तुष्टि जनाउँदै आएका थिए। यही असन्तुष्टि कम गर्न राष्ट्रपतिको पहलमा प्रधानमन्त्री र शीर्ष नेताबीच पहिलो पटक प्रत्यक्ष भेटघाट भएको हो।

यसैबीच, मंगलबार नै सरकारका तर्फबाट दुई मन्त्री अनिल सिन्हा र जगदीश खरेल सम्मिलित संवाद टोली कांग्रेस मुख्यालय सानेपा, एमाले मुख्यालय च्यासल र नेकपा मुख्यालय पेरिसडाँडा पुगेर निर्वाचनका लागि सहयोग र सहमतिको वातावरण बनाउन प्रयास गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP