शीतलहर र कुहिरो बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं पुस ९-देशका विभिन्न भागमा शीतलहर र कुहिरोको प्रभाव बढ्दै गएपछि सरकारले उच्च सतर्कता अपनाउन सबै निकाय र नागरिकलाई आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमानअनुसार तराई तथा भित्री मधेसका धेरै स्थानमा घना कुहिरो लाग्ने र चिसो बढ्ने सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार शीतलहरबाट विशेषगरी गरिब, विपन्न, वृद्धवृद्धा, बालबालिका तथा असहाय नागरिक बढी प्रभावित हुने देखिएको छ। त्यसैले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ अनुसार संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

स्थानीय तहलाई जोखिममा परेका समुदायका लागि न्यानो लुगा, कम्बल तथा आवश्यक सामग्रीको व्यवस्थापन गर्न, सार्वजनिक भवन, मठमन्दिर तथा सामुदायिक भवनमा अस्थायी आश्रयस्थलको व्यवस्था गर्न निर्देशन दिइएको छ। साथै, स्वास्थ्य समस्या देखिएमा तत्काल उपचारको व्यवस्था मिलाउन स्वास्थ्य निकायलाई तयारी अवस्थामा राख्न भनिएको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा सूचना नियमित रूपमा अनुगमन गरी आवश्यक कदम चाल्न, चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि समन्वयात्मक रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP