जनकपुर बोल्ट्समा श्रीलंकाली स्टार कुशल परेरा अनुबन्ध

जनकपुर बोल्ट्समा श्रीलंकाली स्टार कुशल परेरा अनुबन्ध

काठमाडौं । श्रीलंकाका अनुभवी विकेटकिपर-ब्याटर कुशल परेरा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।

जनकपुर बोल्ट्सले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। आक्रामक ब्याटिङका लागि परिचित परेराको आगमनले जनकपुरको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ।

परेराले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन्। एनपीएल उनको आठौँ फ्रेन्चाइज लिग हुनेछ।

श्रीलंकाको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेराले टेस्ट क्रिकेटमा २२ खेलबाट १ हजार १७७, एकदिवसीय अन्तर्राष्ट्रियमा ११६ खेलबाट ३ हजार २३७ तथा टी-२० अन्तर्राष्ट्रियमा ९५ खेलबाट २ हजार ३३५ रन बनाएका छन्।

जनकपुरले परेरासँगै इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिमी निशम, पाकिस्तानका इफ्तिखार अहमद र अमेरिकाका हरमित सिंहलगायत विदेशी खेलाडीलाई पनि टोलीमा समेटेको छ।

एनपीएलको तेस्रो संस्करण काठमाडौंमा सुरु हुँदैछ। उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको जनकपुरका लागि परेराको अनुभव र आक्रामक ब्याटिङ महत्त्वपूर्ण बन्न सक्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP