फुर्केखोलाको पुल बगाएपछि झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रीलाई सास्ती

फुर्केखोलाको पुल बगाएपछि झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रीलाई सास्ती

धादिङ । त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ। दसैँ मनाएर फर्किने यात्रुको सङ्ख्या बढेसँगै पुलमा लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई आवतजावत गर्नसमेत कठिन भएको छ।

बेनिघाट रोराङ गाउँपालिका-३ स्थित त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन प्रवेश गराउन सूचना राखिएको छ। तर, एकैपटक धेरै मोटरसाइकल र स्कुटर पुलमा प्रवेश गर्दा पैदलयात्रुलाई हिँड्नसमेत समस्या भइरहेको छ।

समाजसेवी शिवराज सापकोटाले पुलमा बढ्दो सवारी चापले सुरक्षा जोखिम निम्त्याएको बताएका छन्। भीड व्यवस्थापन र सम्भावित दुर्घटना रोक्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको उपस्थिति आवश्यक रहेको उनको भनाइ छ।

धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकल चालक अभिषेक अधिकारीले पुल पार गर्न आधा घण्टाभन्दा बढी समय घाममा पालो कुर्नुपरेको बताए। सुरक्षा जोखिमबारे चिन्ता भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नुपरेको उनले सुनाए।

दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एकपटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने व्यवस्था मिलाएका थिए। तर, दसैँ सकिएपछि काठमाडौं, पोखरा र चितवन फर्किने यात्रुको चाप बढ्दा व्यवस्थापनमा कठिनाइ भएको छ।

गत भदौ १० गते आएको बाढीले धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो। त्यसयता सदरमुकाम तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP