द्वन्द्वकालको युद्धस्थलदेखि पर्यटकीय गन्तव्यसम्म, वसन्तपुरमा तीन वर्षमा पाँच लाख पर्यटक

द्वन्द्वकालको युद्धस्थलदेखि पर्यटकीय गन्तव्यसम्म, वसन्तपुरमा तीन वर्षमा पाँच लाख पर्यटक

बुटवल । कुनै समय माओवादी र नेपाली सेनाबीचको भीडन्तका कारण चिनिएको पाल्पाको वसन्तपुर डाँडा अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि यहाँ पर्यटकको आगमन बढेको छ भने होटल र मनोरञ्जनका पूर्वाधारमा लगानी थपिने क्रम पनि सुरु भएको छ।

तिनाउ गाउँपालिका-३ मा रहेको वसन्तपुर डाँडामा २०८० जेठ १५ देखि लुम्बिनी केबुलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। बुटवलबाट पैदल पुग्न करिब दुई घण्टा लाग्ने यो गन्तव्यमा अहिले केबुलकारबाट करिब आधा घण्टामै पुग्न सकिन्छ।

केबुलकार सञ्चालक चन्द्रप्रसाद ढकालका अनुसार यहाँ आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको आगमन बढिरहेको छ। बुटवलमा गर्मी भए पनि वसन्तपुरमा चिसो मौसमको आनन्द लिन पाइने भएकाले भारतीय पर्यटक आकर्षित भएको उनको भनाइ छ।

लुम्बिनी केबुलकारका अनुसार तीन वर्षमा पाँच लाखभन्दा बढी पर्यटक वसन्तपुर पुगेका छन्। तीमध्ये करिब ३० प्रतिशत भारतीय पर्यटक छन्। गत आर्थिक वर्षमा भारतीय पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेको जनाइएको छ।

पर्यटकलाई थप आकर्षित गर्न करिब ६ करोड रुपैयाँ लगानीमा क्यासिनोसहितको सुविधासम्पन्न तारे होटल सञ्चालन गर्ने तयारी भइरहेको छ। माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान र रेस्टुरेन्टलगायतका सुविधा पनि उपलब्ध छन्। मौसम सफा हुँदा यहाँबाट बुटवल, तिलोत्तमा, भैरहवा र हिमशृङ्खलाको दृश्यसमेत अवलोकन गर्न सकिन्छ।

वसन्तपुर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा पनि परिचित छ। यहाँका कामाख्या देवी र दुर्गा माताका मन्दिरमा दर्शन गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनी करिब ५० किलोमिटर टाढा रहेकाले लुम्बिनी आउने पर्यटकसमेत वसन्तपुर पुग्ने गरेको स्थानीयको भनाइ छ।

पर्यटकीय विकाससँगै यस क्षेत्रको द्वन्द्वकालीन इतिहासलाई पनि संरक्षण गर्नुपर्ने आवाज उठेको छ। सशस्त्र द्वन्द्वका क्रममा वसन्तपुर पुगेका पत्रकारहरूले त्यतिबेलाका घटनाको स्मरण गर्दै ऐतिहासिक पक्षलाई जीवन्त राख्न सके पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP