ट्युनिसियामा फेरि चर्कियो प्रदर्शन, प्रहरीसँग झडप

ट्युनिसियामा फेरि चर्कियो प्रदर्शन, प्रहरीसँग झडप

ट्युनिस । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु र सार्वजनिक सेवाको कमजोर अवस्थालाई लिएर ट्युनिसियामा प्रदर्शन चर्किएको छ। राजधानी ट्युनिससहित विभिन्न सहरमा बिहीबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

राजधानीको उपनगरीय क्षेत्र एत्ताधामेनमा लागुऔषध कारोबारको आशङ्कामा पक्राउ परेका एक व्यक्तिको मृत्यु भएपछि प्रदर्शन भएको हो। मृतकका परिवारले प्रहरी हिरासतमा कुटपिटका कारण उनको मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। तर, स्थानीय सञ्चारमाध्यमले उनले लागुऔषध निलेपछि मृत्यु भएको जनाएका छन्। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

त्यस्तै, साफाक्स प्रान्तको जेबिनियानामा सुरक्षा बलको पछ्याइका क्रममा एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीले एउटा गाडीमा आगो लगाउनुका साथै सडकमा टायर जलाएका थिए। प्रहरीले उनीहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रयोग गरेको थियो।

साफाक्समै एम्बुलेन्स ढिलो पुगेको आरोपका बीच मुटुसम्बन्धी समस्या भएकी एक छात्राको मृत्यु भएपछि विद्यार्थीले छुट्टै प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्य सेवाको अवस्था सुधार गर्न माग गर्दै विश्वविद्यालयका विभिन्न संकायमा हडताल आह्वान गरेका छन्।

ट्युनिसियामा बढ्दो महँगी, कमजोर सार्वजनिक सेवा र आर्थिक कठिनाइका कारण नागरिक असन्तुष्टि बढिरहेको छ। गत शनिबार राजधानीमा राष्ट्रपति कैस सइदविरुद्ध भएको प्रदर्शनमा सहभागीले लोकतन्त्र कमजोर बनाएको र अर्थतन्त्र व्यवस्थापन गर्न नसकेको आरोप लगाएका थिए।

यसैबीच, सैन्य अदालतले विपक्षी राजनीतिज्ञ ओल्फा हम्दीलाई राज्य सुरक्षाविरुद्ध षड्यन्त्र गरेको र सेनालाई आदेश अवज्ञा गर्न उक्साएको आरोपमा चार वर्षको जेल सजाय सुनाएको थियो। राष्ट्रपतिका आलोचकहरूमाथि भइरहेको कारबाहीले पनि देशको राजनीतिक तनाव थप बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP