पर्यटनको याम सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो

पर्यटनको याम सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो

तनहुँ । पर्यटनको मुख्य याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। यहाँका होटल, पर्यटकीयस्थल र आसपासका ग्रामीण बस्तीमा पर्यटकको चहलपहल बढेको हो।

प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको दृश्य, परम्परागत नेवारी बस्ती र मौलिक संस्कृतिले बन्दीपुर विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। पर्यटन व्यवसायीका अनुसार मौसम अनुकूल हुँदै जाँदा पर्यटकको आगमन बढेको छ।

पर्यटक बन्दीपुर बजारमा घुमघाम गर्नेमात्र नभई जीप सफारीमार्फत रामकोट गाउँ पुगेर स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीको अनुभवसमेत लिने गरेका छन्। मगर समुदायको बसोबास रहेको रामकोटमा स्थानीय रहनसहन र आत्मीय आतिथ्यले पर्यटकलाई आकर्षित गर्ने गरेको जीप सफारी सञ्चालक वसन्त पौडेलले बताए।

बन्दीपुरमा पर्यटकको चहलपहल बढ्दा होटल व्यवसायी, यातायात सञ्चालक तथा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायी उत्साहित भएका छन्। ग्रामीण क्षेत्रमा पर्यटकको आवागमन बढ्दा स्थानीय संस्कृति र पहिचानको प्रवर्द्धनमा समेत सहयोग पुगेको व्यवसायीको भनाइ छ।

बन्दीपुरका प्रमुख आकर्षणमा खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मिनी ग्रेटवाल, टुँडिखेल, तीनधारा तथा रामकोट गाउँलगायत छन्। परम्परागत घर, ढुङ्गा छापिएका सडक र शान्त वातावरणले पनि बन्दीपुरलाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP