बाढीको त्रासले दसैँमा सौराहामा पर्यटकको चहलपहल घट्यो

बाढीको त्रासले दसैँमा सौराहामा पर्यटकको चहलपहल घट्यो

चितवन । बाढीपछि मुख्य राजमार्गको अवरोध हटे पनि पुनः बाटो बन्द हुने डर र पछिल्लो विपद्को असरले यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल अपेक्षाअनुसार बढ्न सकेको छैन।

गत वर्ष जेनजी आन्दोलनका कारण प्रभावित बनेको पर्यटन क्षेत्रले यस वर्ष पनि दसैँमा उत्साहजनक पर्यटक आगमन देख्न सकेको छैन। विगतका वर्षमा दसैँ बिदामा भरिभराउ हुने सौराहाका होटलमा यसपटक आन्तरिक पर्यटकको बुकिङ कमजोर रहेको व्यवसायीले बताएका छन्।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार उनको सौराहास्थित होटल ल्याण्डमार्कमा ७५ कोठामध्ये बिहीबार सातवटा मात्रै बुकिङ भएका थिए। वर्षाका कारण फेरि सडक अवरुद्ध हुन सक्ने आशङ्काले पर्यटकको आवागमन प्रभावित भएको उनको अनुमान छ।

यद्यपि, दसैँ बिदासँगै पर्यटक आगमन बढ्नेमा व्यवसायी आशावादी छन्। होटल व्यवसायी सुमन घिमिरेले शुक्रबारदेखि आइतबारसम्म होटलमा चहलपहल बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

आन्तरिक पर्यटकको बुकिङ कमजोर रहे पनि विदेशी पर्यटकको आगमन भने क्रमशः सुधार हुँदै गएको व्यवसायीको भनाइ छ। वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार पछिल्ला तीन दिन उनको होटल विदेशी पर्यटकले भरिएको थियो। जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएका उनले बताए।

भोटेकोशी बाढीका कारण यसअघि भएका बुकिङ रद्द हुँदा पर्यटन व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो। अहिले रोकिएका पर्यटक आउन थालेको र नयाँ बुकिङसमेत सुरु भएकाले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा व्यवसायीको छ।

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित छ। यहाँ आउने पर्यटकले निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, डुङ्गा र पैदल सफारीमार्फत घुमफिर गर्ने गर्छन्। एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको अवलोकन र थारू संस्कृतिको अनुभव लिन पनि पर्यटक सौराहा पुग्ने गर्छन्।

सौराहासँगै पटिहानी, जगतपुर र मेघौली क्षेत्र पनि चितवनका प्रमुख पर्यटकीय गन्तव्य हुन्। बाढीको त्रास कम हुँदै गएसँगै यी क्षेत्रमा पनि पर्यटक आगमन बढ्ने आशा व्यवसायीले गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP