चर्चामा
जनकपुरधाम । दसैँ, तिहार र छठलाई लक्षित गर्दै धनुषा प्रहरीले जिल्लाभर सुरक्षा निगरानी कडा बनाएको छ। चोरी, लुटपाट, लागुऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले १ हजार २११ जना सुरक्षाकर्मी परिचालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का आफैँ सडकमा खटिएर सवारीसाधन जाँच तथा सुरक्षा निगरानी गरिरहेका छन्। चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू भएको दुई दिनमै चर्को आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका एक सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानीमा राखेको छ। विभिन्न चोकमा सवारी जाँचसँगै पैदल, साइकल र मोटरसाइकल गस्तीसमेत बढाइएको एसपी खड्काले बताए।
सडक सुरक्षासँगै सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकता दिएको छ। एसपी खड्काका अनुसार सामाजिक सञ्जालबाट हुने अपराधमा संलग्न भएको आशंकामा १८ जनाको विवरण तयार पारिएको छ। तीमध्ये चार जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ भने अन्यको खोजी भइरहेको छ।
चाडपर्वमा सम्भावित चोरी तथा आपराधिक गतिविधि रोक्न सीमावर्ती क्षेत्र, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी हुन सक्ने स्थानमा विशेष निगरानी बढाइएको छ। लागुऔषधको ओसारपसार तथा सेवन नियन्त्रणका लागि पनि प्रहरी सक्रिय रहेको जनाइएको छ।
प्रहरीका अनुसार पिकेट, पैदल गस्ती, बजार अनुगमन, स्वीप अपरेसन, विपद् प्रतिकार्य र मोबाइल गस्तीका छुट्टाछुट्टै टोली परिचालन गरिएका छन्। लामो दूरीका सवारीसाधन जाँच गर्न दुई स्थानमा व्यवस्था मिलाइएको छ भने लालगढमा चालकलाई लक्षित गरी विश्राम केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।
धनुषा प्रहरीले नागरिकलाई सवारी नियम पालना गर्न, हेल्मेट प्रयोग गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!