चर्चामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी भइरहेको बताइए पनि भ्रमणको मिति र औपचारिक कार्यक्रम अझै निश्चित भइसकेको छैन। स्रोतका अनुसार मंसिर ७ देखि ९ गतेसम्म भारत भ्रमण गर्ने गरी छलफल भइरहेको छ। तर, दुवै देशका सरकारले यसबारे औपचारिक घोषणा गरेका छैनन्।
गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच भएको भेटवार्तामा प्रधानमन्त्रीको भ्रमणसँगै नेपाल–भारत सम्बन्ध, सुरक्षा सहकार्य र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो। भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले पनि भेटवार्तामा भ्रमणबारे चर्चा भएको पुष्टि गरेका छन्। उनका अनुसार भ्रमणको मिति आपसी सहमतिमा तय गरिनेछ।
सम्भावित भ्रमणका क्रममा पूर्वाधार निर्माण, पुराना द्विपक्षीय सम्झौताको कार्यान्वयन र बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा भारतको सहयोगबारे छलफल हुन सक्ने बताइएको छ। साथै, भारतको सहयोगमा निर्माण भएका नेपाल प्रहरी एकेडेमी, भैरहवास्थित एकीकृत जाँच चौकी र दार्चुलाको महाकाली पुल उद्घाटन गर्ने विषयमा पनि तयारी भइरहेको स्रोतको भनाइ छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएपछि बालेनलाई भारत भ्रमणको निम्तो दिएका थिए। तर, भ्रमणको मिति, एजेन्डा र औपचारिक कार्यक्रमबारे अन्तिम निर्णय सार्वजनिक नभएकाले प्रस्तावित मितिमै भ्रमण हुने वा नहुने अझै स्पष्ट छैन।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!