दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज, चोकचोकमा पूजाआजा र भजनकीर्तन

दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज, चोकचोकमा पूजाआजा र भजनकीर्तन

बाँके । दसैँको रौनकसँगै नेपालगन्जका चोक, गल्ली र चौराह दुर्गा मूर्तिले सजिएका छन्। बिहानदेखि रातिसम्म हुने पूजाआजा, भजनकीर्तन र भक्तजनको चहलपहलले सहर दसैँमय बनेको छ।

नेपालगन्जका अधिकांश चोक र गल्लीमा दुर्गा भगवतीका मूर्ति स्थापना गरिएका छन्। एउटै टोलमा दुईदेखि तीनवटासम्म मूर्ति राखिएको छ। स्थानीयका अनुसार दुर्गा मूर्ति स्थापना गर्ने र भव्य रूपमा पूजा गर्ने परम्परा पछिल्लो समय थप विस्तार हुँदै गएको छ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यका अनुसार घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिको आँखाको पट्टी सप्तमीका दिन खोल्ने धार्मिक परम्परा छ। दसैँभरि पूजा र दर्शन गरेपछि विजयादशमीको भोलिपल्ट एकादशीका दिन मूर्तिहरू राप्ती नदीमा लगेर विसर्जन गरिन्छ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार घटस्थापनादेखि नै सहरका चोक, मन्दिर र गल्लीमा भजनकीर्तन भइरहेका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्म पूजाआजा र धार्मिक गतिविधिमा उत्साहका साथ सहभागी हुने गरेका छन्।

उनका अनुसार नेपालगन्जमा करिब ४०० को हाराहारीमा दुर्गा मूर्ति स्थापना गरिएको अनुमान छ। मूर्ति स्थापना भएसँगै राति अबेरसम्म बजार क्षेत्रमा चहलपहल बढ्ने र रामलीला हेर्ने परम्पराले समेत दसैँको रौनक थप्ने गरेको छ।

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा र कोहलपुरका विभिन्न गाउँमा पनि दुर्गा पूजाको उत्सव छाएको छ। सहरका विभिन्न स्थानमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP